देवीप्रसाद शर्मा :-

प्रिय विद्यार्थी भाइबहिनीहरु !
हामी हाम्रो वर्षौंको परिश्रम र मिहिनेतलाई परीक्षाको कसीमा जाँच्नको लागि अन्तिम घडीमा थियौं। आफुले यत्रो वर्ष सिकेको, बुझेको र मनन गरेको ज्ञान तथा सिपलाई परीक्षाको यन्त्रमा राखेर त्यसको प्रतिफल चाख्नको लागि अलि अलि उत्साह उमङ्ग र अलि अलि त्रास पनि बोकेर हामी परीक्षा केन्द्रमा पुगेका थियौं ।

जतिबेला हाम्रो माध्यमिक शिक्षा परीक्षा (एसइइ) नजिकै आइरहेको थियो, त्यति नै बेला चिनको बुहान प्रान्तबाट विश्वभर फैलिइरहेको ज्यानमारा (COVID-19) कोरोना भाइरसले संसारभरका मानिसहरु त्राहिमाम् बनिरहेका थिए ।

त्यसो त हजारौं मानिसहरुले ज्यान पनि गुमाइसकेका थिए । मानिसहरुको भीडभाड र संसर्गबाट बढी सङ्क्रमण हुने भाइरसको सम्भावित खतरालाई मध्यनजर गरेर हाम्रो नेपाल सरकारले पनि कक्षा ९ सम्मका परीक्षाहरु चैत्र ५ गतेभित्र नै सक्ने निर्देशन जारी गरेको त थियो तर पूर्व निर्धारित योजना र तयारी अन्तिम अवस्थामा पुगेकाले चैत्र ६ गतेबाट हुने एसइइ परीक्षा यथावत् सञ्चालन गर्ने बताएको थियो ।प्रिय विद्यार्थी भाइबहिनीहरु ! हामी सबैलाई थाहै छ, यस्तो विषम परिस्थितिमा पनि हामी परीक्षाको लागि जुटिरहेका थियौं । तपाईंहरु पूरा तयारीका साथ परीक्षा दिन परीक्षा केन्द्रमा पुग्नुभएको थियो भने परीक्षा सञ्चालनका लागि सरकारले खटाएका केन्द्रमा केन्द्राध्यक्षहरु, सहायक केन्द्राध्यक्षहरु र निरीक्षकहरुले पनि अन्तिम तयारी गरिरहेका थिए ।

हामीले यो बुझ्नु जरुरी छ कि अरु कक्षाको परीक्षा सकिएलगत्तै विशेष स्वास्थ्य सतर्कता अपनाउँदै सकभर एसइइ सम्पन्न गर्न सकिन्छ कि भन्ने ध्याउन्नमा सरकार थियो । मलाई लाग्छ, सरकारको यही मर्मलाई हामी सबैले आत्मसात गरिरहेका थियौं ।प्रिय विद्यार्थी भाइबहिनीहरु ! चैत्र ६ गते बिहान ८ बजेबाट शुरु हुने परीक्षा चैत्र ५ गते साँझ एक्कासी स्थगित भएको समाचार आयो । सारा सञ्चारमाध्यम र सामाजिक सञ्जाल परीक्षा स्थगित भएको खबरले भरिए । अचानक आएको खबरले हामी सबै छक्क प¥यौं । क्षणिक आवेशमा आएर हामीले सरकारलाई गाली पनि गर्न थाल्यौं । ‘परीक्षाको मुखमा आएर किन रोक्ने ? दुईचार दिन अघि रोक्न सक्ने थिएन ? हामीलाई यत्रो आर्थिक क्षति पु¥याइदिने ? मानसिक तनाब दिने ? यस्तो पनि सरकार हुन्छ ? भनेर सामाजिक सञ्जालहरुमा पनि सरकारप्रति निकै नै तीता टिप्पणीहरु गरिए ।

प्रिय विद्यार्थी भाइबहिनीहरु ! विपत्ति बाजा बजाएर आउने चिज होइन । हुन त यो रोगको संक्रमणको बारेमा सरकारलाई पूर्व जानकारी थियो पहिले नै किन नगरेको ? भन्ने प्रश्न पनि उब्जिन्छ । त्यसो पनि होइन, नेपालमा अन्य मुलुकमा जस्तो संक्रमित व्यक्तिहरु नदेखिएका कारण अवस्था हेरेर परीक्षा स्थगित जुनसुकै बेला परीक्षा रोक्न सकिन्छ भन्ने सङ्केत त गरि नै सकेको थियो ।

छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस संक्रमित व्यक्तिहरु फेला परिसकेका, विश्वमा महामारीको डरलाग्दो रुप लिइसकेको र विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखिसकेकोका कारण जुनसुकै समयमा पनि नेपालमा यो भाइरसबाट नेपालीहरु संक्रमित हुन सक्छन् र त्यसको स्थिति कसैले पनि सामना गर्न नसक्ने गरी भयावह हुन्छ भन्ने कुरा सरकारलाई लागेका कारण एसइइ लगायत विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित गरको कुरा यथार्थ हो ।

परीक्षा भन्दा ठूलो मानव स्वास्थ्य र मानव जीवन हो भन्ने कुरामा सरकार समयमै सचेत भएकोमा सरकारको यो निर्णयलाई हामी सबैले स्वागत गर्नुपर्छ । हाम्रो स्वास्थ्य र जीवन रक्षाका लागि चालेको कदमप्रति धन्यवाद ज्ञापन गर्नुपर्छ । यदि एक दुई दिन परीक्षा सञ्चालन भएपछि स्थगित गर्नुपरेको भए हामीलाई मानसिक तनाव झन् कति हुन्थ्यो । परीक्षा भइहालेको भए असुरक्षित महसुस गर्दै कोरोनाको डरत्रासमा परीक्षा दिनुपर्दा हाम्रो परीक्षा बिग्रन पनि सक्थ्यो । यत्ति कुरा हामीले सोच्न र बुझ्न सक्यौं भने सरकारप्रति हामीमा उच्च सम्मान जाग्नेछ ।

प्रिय विद्यार्थी भाइबहिनीहरु ! तपाईंहरुको परीक्षा अब कहिल्यै नै नहुने गरी स्थगित भएको पनि होइन । महामारी साम्य भएपछि पुनः सञ्चालन हुन्छ । मनमा ज्यानमारा रोगको भय भएता पनि व्यक्तिगत स्वास्थ्य, सरसफाइ, खानपान आदिमा ख्याल ग¥यौं भने हामी सुरक्षित रहन सक्छौं । बच्न सक्छौं ।

हामी स्वस्थ रहन सक्यौं भने परीक्षाको त के कुरा भयो र जहिले पनि दिन सकिछ । त्यसैले यी कुराहरुमा ध्यान दिँदै अब हामीले यो अवधिलाई भरपूर उपयोग गर्नुपर्ने हुन्छ । परीक्षा भनेको हाम्रो भविष्यसँग जोडिएको विषय पनि हो, हल्का रुपमा लिनुहुँदैन ।‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्ने एउटा उक्ति छ त्यसकारण हाम्रो पढाइको उपलब्धि झनै राम्रो हुनको लागि नै यो परीक्षा स्थगित भएको हो भन्ने कुरा मात्र सोच्न सक्र्यौं भने यो खाली समयमा घरमै बसेर पनि हामीले पहिलेको भन्दा अझ राम्रो तयारी गर्न सक्छौं । म एउटा जिम्मेवार शिक्षक भएको नाताले पनि यो कुरा गरिरहेको छु ।

अब परीक्षा पुनः सञ्चालन नभइन्जेलसम्मको यो अवधिलाई कसरी उपयोग गर्ने त ? विशेषगरी पढाइलाई कसरी निरन्तरता दिन सकिन्छ त ? अब म भाइबहिनीहरुको यही जिज्ञासा मेटाउन केही कुरा बुँदागत रुपमा गर्न गइरहेको छु ।

१. घरबाट बाहिर भीडभाडमा ननिस्कनुहोस् । निस्कँनै पर्दा सुरक्षित भएर निस्कनुहोस् । जस्तै मास्क, सेनिटाइजरको प्रयोग गर्नुहोस् । बाहिरबाट घरमा पस्नुभन्दा अगाडि पनि साबुनपानीले हातमुख धोएर, कपडा फेरेर मात्र पस्नुहोस् ।
२. चिसोबाट बच्नुहोस् । घरायसी चिजबिजको प्रयोग बढी गर्नुहोस् । रोगसँग प्रतिरोधात्मक शक्ति वृद्धि गर्ने खानेकुराहरु बढी खानुहोस् ।
२. आफ्नो आत्मबल र आत्मविश्वास कत्ति पनि कमजोर नबनाउनुहोस् । आपूmलाई कमजोर बनाइयो भने रोगहरुले सजिलै आक्रमण गर्न सक्छन् ।
३. समय समयमा स्वास्थ्यकर्मीले दिएका सल्लाह र नेपाल सरकारले दिएका निर्देशनहरुको पालना गर्नुहोस् ।
४. पढाइका लागि विषयगत समयतालिका निर्माण गरी विषय अनुसार दिनहुँ अध्ययन र अभ्यास गर्नुहोस् ।
५. आपूmले पहिले बनाएका नोट, गृहकार्य र कक्षाकार्यका अभिलेखहरु नियमित अध्ययन गरिरहनुहोस् । पाठ्यपुस्तकमा भएका पाठहरु नछुटाइ अध्ययन गर्ने र अभ्यासमा दिएका समस्याहरु नछुटाई पुनरावृत्ति गर्ने गर्नुहोस् ।
६. नजानेका र कठिन लागेका कतिपय समस्याहरु, विषयहरु छुट्टै कपीमा टिपोट गरेर राख्नुहोस् यसो गर्दा पछि आफ्नो शिक्षकबाट समाधान गर्न सकिन्छ । त्यसो त अहिले प्रविधिका साधनहरु प्रयोग गरी शिक्षक वा जानेका साथीहरुबाट पनि तत्काल आफ्ना समस्याहरु समाधान गर्न सकिन्छ ।
७. टिभी निश्चित समयमा मात्र हेर्न सकिन्छ । देशमा भइरहेका गतिविधिहरु जानकारी लिँदा सामाजिक, जनसंख्या जस्ता विषयका लागि राम्रै हुन्छ ।
८. मोबाइल वा कम्प्युटरमा इन्टरनेट जडान गरी सामाजिक सञ्जालको प्रयोमार्फत् साथीहरु र आफ्ना शिक्षकहरुसँग पढाइका बारेमा छलफल गर्न सकिन्छ । एक अर्काले नजानेका विषयहरु छलफलमा ल्याउँदा परीक्षालाई फाइदा पुग्छ । गुगल सर्चबाट पनि धेरै कुराहरु खोज्न र अध्ययन गर्न सकिन्छ । त्यसैगरी युटुबबाट धेरै सिकाइका सामग्रीहरु हेर्न सकिन्छ ।
९. पहिले कठिन लागेका विषयहरुमा बढी अभ्यास गर्ने, जोड दिने गर्नुहोस् ।
१०. दिमागलाई फ्रेस बनाउन पत्रपत्रिका र अन्य कथा, कविताका किताबहरु दिनको एकाध घण्टा छुट्याएर पढ्न सकिन्छ । राम्रा लागेका गीतहरु पनि सुन्न सकिन्छ ।
११. अभिभावकहरुले अन्य घरायसी काममा पनि लगाउन सक्नुहुन्छ तर उहाँहरुलाई कुरा बुझाउने दायित्व पनि तपाईंहरुकै हो । परीक्षाको तयारी झनै राम्रो गर्नुपर्छ भनेर कुरा बुझाउनुहोस् । घरायसी सानातिना काममा भने सहयोग गरेर पनि आफ्नो पढाइलाई निरन्तरता दिन सकिन्छ ।

प्रिय विद्यार्थी भाबहिनीहरु ! मुख्य कुरा त हाम्रो स्वास्थ्य हो । हाम्रो स्वस्थ जीवन हो । हामी स्वस्थ रहन सक्यौं भने जीवनमा धेरै कामहरु गर्न सक्छौ. । हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौं । त्यसैले अब कत्ति पनि सानो मन नबनाई माथि दिइएका सुझावहरु अनुसार अगाडि बढ्नुपर्दछ ।

परीक्षाको लागि जति पहिला तयारी गरिएको थियो त्यसमा कत्ति पनि कम हुन नदिएर अझै वृद्धि गर्दै जाने हो भने हामीले परीक्षा अझै राम्रो गर्न सक्छौं । समय र अवसरको सदुपयोग गर्ने मानिसले नै जीवनमा धेरै उन्नति प्रगति गर्न सक्छ । तर पहिलो नम्बरमा त आफ्नो स्वास्थ्य ख्याल गर्नुपर्छ नि है । सुस्वास्थ्य र आगामी परीक्षाको उच्च सफलताको शुभकामना दिँदै मेरा कुरा बन्द गर्छु ल । मेरो पत्र पढेर मनन गरिदिनुभएकोमा हृदयदेखि नै धन्यवाद ।

लेखक: प्रविधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय महासचिव हुन् । 

Leave a Reply