कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राती १० बजेदेखि जिल्ला भित्र निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैठकले सोमबार राती १० बजेदेखि चैत्र २१ गतेसम्म जिल्लाभर अत्यावशेक बस्तु र सेवा बाहेकका बस्तु तथा सेवाहरुको सेवा तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो ।

उहाँका अनुसार दैनिक उपभोग्य बस्तुको सेवाहरूका लागि विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खुल्ला गर्ने, सामाजिक सञ्जालमार्फत गलत भ्रम र अफवाह फैलाउने ब्यक्तिलाई कारवाही गर्ने लगायतका निर्णयहरु भएको बताउनुभयो ।

सुरक्षा समितिको बैठकले दिउँसो सर्वदलिय, सर्वपक्षीय बैठकका निर्णयहरु कार्यान्वयनका साथै जिल्लाभित्रका सबै क्षेत्रमा आवश्यकता अनुसारको निगरानी बढाउने निर्णय समेत गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले निर्णयलाई कार्यान्वनयका लागि जनप्रतिनिधि, सरोकारवाला निकायसँगै सुरक्षा निकायलाई समेत आफ्ना यूनिटहरुको परिचालनका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो ।

‘चेकपोष्टमा कडाई हुन्छ,‘सकेसम्म केहीदिन घरबाहिर अनाउनुहोस्’ प्रजिअ ढकालले भन्नुभयो। उहाँले जिल्लाभित्रका सबै ४५ वटै वडासम्म पुग्ने गरी आवश्यकत तयारीमा जुटेको बताउँदै सरकारी निर्णयलाई कार्यान्वयन गर्न समेत समुदायमा अपिल गर्नुभएको छ।

Leave a Reply