विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण सोमबार राती १० बजेदेखि म्याग्दीमा पूर्ण रुपमा लकडाउन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

कोभिड–१९ को त्रास बढ्दै गइरहेको अवस्थामा सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राती १० बजेदेखि जिल्ला भित्र निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय लगत्तै जिल्लाभित्रको सुरक्षा ब्यवस्था कडा बनाएको छ।

जिल्लाको सदरमुका बेनी देखि ग्रामिण क्षेत्रसम्मका सुरक्षा संयन्त्रलाई निर्णय कार्यान्वयनका लागि सोमबार सर्कुलर जारी गरिएको अवस्थामा निर्णयको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुने उल्लेख छ ।

ऐनमा दफा १ को उपदफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीले आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था रहेको छ ।

त्यस्तै सरकारी नियमको उल्लंघन गर्ने, सरकारी अधिकारीले प्राप्त गरेको जिम्मेबारीलाई पूरा गर्न अवरुद्ध पुर्याउने ब्यक्तिलाई एक हजार जरिबाना र ६ महिना कैद वा दुबै सजाय हुनसक्ने ब्यवस्था रहेको छ । ऐन अन्तर्गत तोकिएको अधिकृत व्यक्तिले कर्तव्य पालन गर्दा असल नियतले कुनै काम कारवाई गरेकोमा निजको विरुद्ध नालिस वा अरू कुनै कानुनी कारवाई गर्न नसकिने उल्लेख छ।

यता म्याग्दीमा प्रमुख जिल्ला अधिकारीले सोमबार राती १० बजेदेखि सार्वजनिक सूचनामार्फत गरिएको निर्णयलाई उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तरगत नै कारवाही गरिने बताउनुभयो । ‘यो अवस्थामा अवज्ञा गर्नु नै गैरजिम्मेबारी कार्य हो,‘कानुनी ब्यवस्था अनुसार नै कारवाही गर्नेछु’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भन्नुभयो । उहाँले ऐन बाहेक आर्कषित हुने अन्य कानुनी सजाय समेत तोक्न सकिने भन्दै जिम्मेबारी नागरिकले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि सरकारले गरेको निर्णयको कार्यान्वयन गर्ने बताउनुभयो । ‘कारवाहीका लागि कानुनका पाना पल्टाउनु नपरोस्,‘सबै मिलेर यो जोखिम अवस्थाबाट मुक्त हुनुपर्छ’ प्रजिअ ढकालले भन्नुभयो।

म्याग्दी जिल्लाका सबै स्थानीय तहमा तोकिएको एकिकृत चेकपोष्टका साथै इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, स्थानीय जनप्रतिनिधिमार्फत समेत सवारीसाधनमा आवतजावत लगायत बन्द गर्ने सूचना गरिएका गतिविधिमा आगामी चैत्र २१ गतेसम्म रोक लगाउन जिल्ला सुरक्षा समितिले जनाएको छ । यता संघीय सरकारले समेत मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि पूरै देश लक डाउन गर्ने निर्णय गरेको छ। अत्यावश्यक सेवा अन्तरगत पर्ने औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता काममा बाहेक कुनै व्यक्ति घरबाट बाहिर ननिस्कन समेत निर्देशन दिइएको छ ।

Leave a Reply