विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि हिजो सोमबार रातीदेखि म्याग्दीमा निजी तथा सार्वजनिक यातायातका साधनहरुमा रोक लगाएसँगै बेनीबजार सुनसान भएको छ । छिमेकी जिल्ला पर्वतसँग जोड्ने कालिपुल बसपार्क समेत सुनसान छ भने बेनीबाट ग्रामिण क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरु समेत पूर्णरुपमा बन्द छ । बेनी नगरपालिका–१ रत्नेचौर, बेनपा–८ कालिपुल बसर्पाक, वडा नं ९ तोरीपानी, रघुगंगा गाउँपालिका–३ मौवाफाँट, अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना, वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी, मंगला गाउँपालिका–२ बावियाचौर, मालिका गाउँपालिका–६ दरबाङ र धवलागिरी गाउँपालिकाको ताकम र मुनाको सिमानामा एकिकृत चेकपोष्ट स्थापना गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडाका बासिन्दालाई आफ्नो घरभित्रै बस्न अपिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिले लकडाउन गर्ने निर्णयसँगै सर्वसाधारण घरबाट बाहिर निस्किएका छैनन् । दैनिक उपभोग्य बस्तुहरु बिक्री गर्ने पसलहरु विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय अनुसार बेनीबजारका सबै पसलहरु बन्द छन् । त्यस्तै छिमेकी जिल्ला पर्वतले आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । पर्वत जिल्ला जोड्ने सम्पूर्ण नाका बन्द गरेको अवस्थामा आज विहानैदेखि लागु हुने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका कारण म्याग्दीसँग सिमा जोडिएका क्षेत्रमा समेत सर्वसाधारणको आगमन पूर्णरुपमा रोकिएको छ।
तस्वीर छवि आचार्य

Leave a Reply