बागलुङमा सरकारले घोषणा गरेको एक हप्ते लक डाउन अवज्ञा भएपछि स्थानीय प्रशासनले सेना परिचालन गर्ने निर्णय गरेको छ ।

मङ्गलवारदेखि लागु हुने गरी घोषित लक डाउनका समयमा समेत सडकमा मानिस र सवारी साधनको बाक्लो उपस्थिति भएपछि सेना परिचालन गर्ने निर्णय भएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले सेना परिचालन गर्ने निर्णय भएको पुष्टि गदै यसलाई स्थानीय कर्फयूका रूपमा बुझ्न आग्रह गरे ।

सेना परिचालन गर्नुपर्ने आवश्यकताबारे जिल्ला प्रशासन अधिकारी सैजुले भने स्थानीयले स्वर्तस्र्फुत रूपमा सडक छाड्न नमानेपछि यस्तो निर्णय भएको हो । पूर्ण लक डाउन घोषणा गरेको पहिलो दिन बागलुङमा आमसर्वसाधरणमात्रै होइन स्थानीय नेता र पत्रकार समेत सडकमा सवारी साधन सहित निस्किएका थिए ।

सर्वसाधारणले लकडाउन उलंघन गरेपछि जिल्ला सुरक्षा समितिको बैठकमा त्यसको समिक्षा भएको थियो । बैठकलगत्तै प्रजिअ सैंजुले ९ बुँदे आदेश जारी गरेका हुन् । आदेशको ९ नं. वुँदामा निषेधाज्ञा र सेना परिचालनको आदेश छ । मंगलवार सर्वसाधारण सडकमा हिडिरहे भने बाईक, जीप र साना गाडीहरु पनि फाटफुट रुपमा चलेका थिए ।

सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई नेपालमा फैलन नदिन एक हप्ताका लागी पूर्ण लक डाउनको घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक कामबाहेक सडकमा ननिस्कन पनि सरकारले आग्रह गरेको छ । Source: Tvannapurna.com

Leave a Reply