विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि सोमबार रातीदेखि सरकारले पुरै देश लकडाउन गर्ने निर्णग गरेपछि गाउँ फर्किएकाहरु मेलापातमा ब्यस्त छन् । ब्यवसायीक, शिक्षा लगायत विभिन्न कारणले सहरबजारमा प्रवेश गरेकाहरु सुरक्षित हुन आफ्नै गाउँ फर्किन थालेपछि गाउँमा चहलपहलसँगै आफ्नो खेतबारीमा खेतीपातीमा ब्यस्त देखिन्छन् ।

मंगलबार विहानदेखि नै म्याग्दीमा बजार,यातायात,सार्वजनिक स्थल र ग्रामिण क्षेत्र समेत सुनसान देखिएपनि ग्रामिण क्षेत्रमा सतर्कता अपनाउँदै घरायसी काममा समय मिलेको बेनीको डिजी प्रिन्टिङ सेन्टरका सञ्चालक भिमनाथ शर्माले बताए।

‘कोरोनाको संक्रमणबाट जोगिन गाउँ रोजेका छौ,‘विहानै देखि खेतीपातीमा ब्यस्त छौ’ शर्माले भने। उनले विश्वब्यापी संक्रमणले त्रास फैलिएपछि घरपरिवारसँग बस्न गाउँमा आएको बताए ।

जिल्लाको सदरमुकाम बेनीमा ब्यवसाय गर्ने अधिकांस गाउँ फर्किएपछि बेनीबजार सुनसान भएको छ । बेनी बाहेक जिल्ला बाहिरबाट समेत आएकाहरु गाउँमा पुगेका छन् । ‘फुर्सदमा घरायसी काम गर्ने वातावरण मिलेको छ,‘पसल नै बन्द गरी हिडेर गाउँमा आए’ मंगला गाउँपालिका–२ भाईवाङका सन्देश आचार्यले बताए ।

उनले केही दिन अगाडी बेनीमा ब्यवसाय सुरु गरेपनि बजार सुनसान भएपछि बन्द गरेर गाउँ फर्किएको बताउँदै गाउँमा घरायसी काम गर्ने बताए ।स्थानीय सरकार र प्रशासनले जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा मानिसहरु जमघट हुन र घरबाट बाहिर निस्कन रोक लगाएपछि यसको पालन स्थानीय बासिन्दाहरुले सहजरुपमा लिएका छन् ।

अन्य अवस्थामा विभिन्न प्रयोजनका लागि अनेक समुदाय वा राजनीतिक दलहरुले आह्वान गरेको बन्दलाई अवज्ञा गर्ने गरेका स्थानीय वासिन्दाहरुले सरकारले यस पटक गरेको बन्दको आग्रहलाई भने सहर्ष स्वीकार गरेका छन् ।‘अलिकति समस्या त हुन्छ नै तर,यो सबै हाम्रै स्वास्थ्यका लागि सरकारले गरेको सावधानी हो,यसलाई अवज्ञा गर्नु हुँदैन बरु सरकारलाई सहयोग गर्नु पर्छ’ बेनी नगरपालिका २ बगरफाँटका शिव घिमिरेले भने ।

जिल्ला सुरक्षा समितिले लक डाउन गर्ने निर्णय गरेसंगै सर्वसाधारण कोही पनि आफ्नो घरबाट निस्किएका छैनन् । दैनिक उपभोग्य वस्तुहरु विक्रिी गर्ने पसलहरु विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय अनुसार विहान बेनी बजार र ग्रामिण क्षेत्रका बजारहरु समेत पूर्णरुपमा बन्द गरिएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा यतिबेला मकै छर्ने,तोरी थन्क्याउने,आलु खन्ने जस्ता कामको चटारो भएपनि स्थानीयले केही दिन सो कामलाई थाँती राखेर घर भित्र वस्ने बताएका छन् ।

Leave a Reply