म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धवलागिरी गाउँपालिका–१ मा घुम्न नआउन अनुरोध गरिएको छ ।

जिल्लामै लुकेको बस्तीको रुपमा चिनिएको गूर्जामा कोरोना भाइरस (कोभिड–१९) का कारण आक्रान्त बनिरहेको अवस्थामा लुलाङका साथै बागलुङ, रुकुमबाट समेत आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने भएकाले उक्त स्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आगमनमा रोक लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार पर्यटकको सिजनमा हवाई तथा पैदलमार्ग हुदै आवतजावत गर्ने यात्रुबाट कोरोनाको जोखिमलाई मध्यनजर गरी गुर्जा प्रवेशमा रोक लगाइएको बताउनुभयो ।

स्थानीय अगुवा र वडाका जनप्रतिनिधिहरुको बैठकको निर्णय अनुसार कोरोना संक्रमणको जोखिम कायम रहदा सम्मको अवस्थामा गुर्जामा बाहिरबाट आउने नाका बन्द गर्ने निर्णय भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

स्थानीयलाई आवश्यकता अनुसार विभिन्न जनचेतनामुलक कार्यहरु समेत गरिएको छ । गूर्जाबाट नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल आरोहण र अवलोकन गर्न हरेक बर्ष विदेशी पर्यटक समेत आउने गरेका छन् ।

समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाकै नक्साको टुप्पोमा बसेको मानब बस्तीमा बसोबास गर्ने छन्त्याल र दलित जातीकोे इतिहास,विभिन्न सांस्कृतिक चालचलनलाई पनि नजिकबाट अध्ययन गर्न समेत विभिन्न देशबाट पर्यटक पुग्ने गरेका छन् ।

गूर्जा, चुरेन र पुथा हिमालको आरोहणका साथै पदयात्रामा रमाउनेहरुलाई गूर्जा एउटा सुन्दर गन्तब्यको रुपमा विकास भइरहेको छ। गुर्जामा करिव २ सय ३० घरधुरीमा १२ सय जनसंख्या रहेको छ ।

Leave a Reply