कोरोना भाइरसबाट बच्नको लागि म्याग्दीको मंगला गाउँपालिका–१, तुसारेपानी गाउँमा बारम्बार सावुन पानीले हात धुने नियम बनाइएको छ। कोरोनाबाट जोगिन सावुन पानीले हात धोएर घरभित्र प्रवेश गर्ने, कुनै काम गरेलगत्तै हात धुने जस्ता सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । स्थानीय मनकामना यूवा क्लव र मनकामना आमा समुहको अगुवाईमा साबुन पानीले घरमै हात धुने विधि सहित सचेतनामुलक कार्यक्रममा गाउँभित्रका सबै घरधुरीले अनिवार्य कोरोना भाइरसको जोखिमबाट जोगिन आवश्यक सर्तकता अपनाउने प्रतिबद्धता जनाएका थिए ।

क्लव र आमा समुहको पहलमा १ सय ५५ घरधुरीलाई ६ सय मास्क र १ सय ५५ थान सावुन वितरण गरिएको थियो । कोरोना भाइरसबाट आफु र परिवारका सदस्यलाई जोगाउन साबुन पानीले हात धुने वानी बसाल्न क्लव र आमा समुहले छड्के अनुगमन समेत गर्ने भएको क्लवका उपाध्यक्ष लालबहादुर रोकाले बताउनुभयो ।

‘अनुगमनको क्रममा धेरै हात धुनेलाई पुरस्कृत गर्नेछौ,‘परिवारमा नियमित हात धोएको खण्डमा सदस्यहरुलाई समेत रोगको संक्रमण फैलिन्न’ रोकाले भन्नुभयो ।

क्लव र आमा समुहले करिब ३० हजार बराबरको साम्रागी वितरण गरेको जनाइएको छ । घरमा साबुन पानीले हात धुने सुविधा नभएकाले समय–समयमा उपलब्ध गराउने आमा समुहकी अध्यक्ष हिरा रोका राम्जालीले बताउनुभयो । गरिब तथा विपन्नलाई घरमा हात धुने सुविधा उपलब्ध नभएको अवस्थामा क्लव र आमा समुहले थप सहयोग जुटाएर भएपनि सहयोग गर्ने क्लवका अध्यक्ष चोचन फगामीले बताउनुभयो ।

सिंगो गाउँलाई कोरोनाको संक्रमणबाट जोगाउन आवश्यक घर बाहिर नजाने, समुहमा नबस्ने, ज्वरो, रुघाखोकी लागेमा तत्काल स्वास्थ्य चौकीमा चेकजाँच गर्ने र अपरिचित ब्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाउन गाउँले सामुहिक प्रतिबद्धता समेत जनाएका छन् ।

‘सरसफाईको लागी नियमित साबुन पानीले हात धुनुपर्छ भनेर साबुन दिएका छौ,‘गाउँमा स्यानीटाइजर आवश्यक छैन’ फगामीले भन्नुभयो ।गाउँमा विदेशबाट आएका एकजना पनि नभएकाले कोरोना भाइरसको त्रासभन्दा पनि सावधानीतर्फ ध्यान दिएको बताउनुभयो । कार्यक्रममा बुदीराम पुन, मिलन पुन,लिलामान पुन, ईश्वर रोका,जिवन रोका,शिब किसान बाल देवि पुर्जा, दीपा राम्जाली,याम कुमारी पुन र माया पुन लगायतले वितरण गर्नुभएको थियो । तुसारेपानीमा स्थानीयको सक्रियतामा भौतिक पूर्वाधार सहित सामाजिक गतिविधिमा समेत तिब्रता दिइएको छ ।

Leave a Reply