म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर शिवालय मन्दिरको बाहिर रहेको प्रतिक्षालय नजिकै साँधुरो कोठामा बोराभित्र कुहिएको अवस्थामा चामल, फोहोरका डंगुरले सडकसम्म दुर्गन्ध फैलिन्छ ।

वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई मागेर खाद्यान्न, लत्ताकपडा सहित अन्य दैनिक उपभोग्य बस्तुहरु थुपारेर थुप्रो लगाएकी बृद्धा दिलमायाँ विक सुत्ने कोठाबाट आसपासका क्षेत्रसम्म दुर्गन्ध फैलिएपछि स्थानीयले कोठा सरसफाई गरिदिए । गलेश्वर आमा समुहको पहलमा कोठा सरसफाई गरी कुहिएका खाद्यान्न लगायत फोहोरलाई नजिकै आगो लगाएर जलाइयो। दुर्गन्धले कोठाभित्र पस्दा गन्हाउने अवस्थामा स्थानीयले फोहोरको डुंगर खोतलखातल गर्दा पैसाको बिटो भेटिएको छ ।

‘दुर्गन्ध फैलिएपछि फोहोर जलाउँदै गर्दा पैसाको नोट राखेको बोरा भेटियो,‘जलाउने तयारी गर्दा पैसा भेटिएपछि दंग परियो’ गलेश्वर आमा समुहकी अध्यक्ष गौमायाँ गर्बुजाले भनिन् ।

उनले चिसो बोरालाई आगोमा हाल्ने तयारी भइरहेको अवस्थामा एक सयको नोट देखिएपछि तत्कालै निकालिएको बताईन् । एउटा बोराभरीको पैसा करिव एक घण्टा लगाएर गन्दा ७८ हजार भएको गर्बुजाको भनाई छ ।उनका अनुसार अधिकांश नोट भिजेको अवस्थामा फेला परेको नोट ५, १०, २०, ५० र १ सयको रहेको थियो ।

दैनिक मन्दिर तथा आसपासका क्षेत्रमा माग्ने गरेकी विकको यसअगाडी समेत फोहोर पन्छाउँदा १२ हजार र ७ हजार भेटिएपछि वित्तिय संस्थामा जम्मा गरिएको थियो । चिसोमा सुतेर रात कटाउने गरेकी बृद्धाको बोराभरी पैसा भेटिएपछि स्थानीय समेत दंग परेका थिए ।

मन्दिर आसपासमा दैनिक मागेर १ हजारसम्म जम्मा गर्ने गरेकी बृद्धाको पैसा सदुपयोग गर्न आमा समुहले नै सक्रियता देखाएर उनको नाममा राखिएको छ ।

उक्त पैसा लकडाउन लगत्तै सहकारीमा विककै नाममा राखेर औषधी उपचार लगायत अन्य गतिविधिमा खर्च गर्न दिने आमा समुहले जनाएको छ । मन्दिरमा स्थायी रुपमा केहीले मागेर ज्यान पाल्ने गरेका छन् भने बाहिरी जिल्लाबाट समेत मगन्ते आएर माग्ने गरेको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

Leave a Reply