काठमाडौं, चैत १४ । मेगेसेसे पुरस्कार विजेता महावीर पुनले कोरोनाभाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोसाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् ।

बिहीबारदेखि पीपीई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्करुपमा उक्त सामग्री वितरण गर्ने बताए ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई नमुना देखाएपछि साँझैबाट उत्पादन सुरु गरिएको उनले बताए ।

‘एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ’-उनले भने-‘एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।’

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनकाअनुसार एकजना मजदुरले दिनमा आठओटा पीपीई बनाउने छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पीपीई बनाउन भनेपछि उनले बनाउन थालेका हुन् ।

‘शिक्षण अस्पतालका चिकित्सकले एउटा नमुना दिनुभयो’-उनले भने-‘अनि त्यही नमुनाअनुसार मैले पीपीई बनाउन थालेको  हुँ ।

उनले पीपीई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

मजदुर र कच्चापदार्थको अभाव

पुनले कोरोनाभाइरस रोकथाम गर्न प्रयोग गरिने पीपीई आफूले उत्पादन गरेपनि अहिले लकडाउनका कारण मजदुर र कच्चापदार्थको अभाव भएको बताए ।

‘मैले चाहिनेजति नै पीपीई बनाउने थिएँ’-उनले भने-‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चापदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’

उनले पीपीई बनाउन चाहिने कच्चापदार्थ र मजदुर अहिले खोजिरहेका छन् । रासस

Leave a Reply