उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सत्तरी लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको प्रम्ख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो ।

गाउँपालिकाका ८ वटै वडामा तीन÷तीन बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ भने भुरुङ तातोपानीको सर्वोदय माविमा थप आवश्यकता परेकालाई राखिने प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र कोरोनाको जोखिमलाई मध्यनजर गरी गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजाको अध्यक्षतामा प्रशासकीय अधिकृत सुबेदी, वडा नं २ का अध्यक्ष ओम बहादुर फगामी, कार्यपालिका सदस्य आत्म तुलाचन र स्वास्थ्य संयोजक समुन्द्र बरुवाल सदस्य रहेको एक्सन टिम समेत गठन भएको छ ।

त्यस्तै अध्यक्ष पुनको ब्यक्तिगत खर्चमा ४ वटा र पालिकाले तत्काललाई ५ वटा गरी ९ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) समेत ब्यवस्था गरिएको छ ।

एक्सन टिमले गाउँपालिका भित्र आवश्यकता परेमा तत्काल सहयोग गर्ने गरी थप निर्णयहरु गर्न सक्ने अध्यक्ष गर्बूजाले बताउनुभयो । गाउँपालिकाले विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था संकलन गरी चैत्र १ गते यताकालाई क्वारेन्टाइनमा राख्ने भन्दै तत्काल सम्पर्कमा आउन समेत अनुरोध गरेको छ।

Leave a Reply