छिमेकी जिल्ला बागलुङमा बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएपछि बेनी नगरपालिका–१, रत्नेचौरले बागलुङ जोड्ने सबै नाका पूर्णरुपमा बन्द गरेको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको आफ्नै घरमा रहेकी १९ युवतीलाई संक्रमण देखिएपछि रत्नेचौर समेत उच्च जोखिममा परेको भन्दै वडाबाट बागलुङ जोडिने सडक तथा पैदलमार्ग बन्द गरिएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । ‘सडक र पदैलमार्ग ठाउँठाउँमा बन्द गरेका छौ,‘केहीदिन आवतजावतमा पूर्ण रोक लगाउँछौ’ अध्यक्ष रावलले भन्नुभयो । उहाँले बागलुङबाट दुध, तरकारी लिन आउनेसँगै फर्सदमा घुम्न समेत आउने गरेको अवस्थामा आवतजावत नै ठप्प पार्नुपर्ने अवस्था आएको बताउनुभयो।

कुडुँलेबाट रत्नेचौरमा धेरै आवतजावत हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी प्रहरी चौकीमार्फत नाकामा नियमित गस्ती सहितको योजना समेत बनाइएको छ। रत्नेचौर–कुँडुले जोड्ने पक्की पुल,सारेमारे, ढोडेनी खोलामा समेत बन्द गरिएको छ ।

रत्नेचौरबासीले बागलुङमा कुनै काम परेमा मालढुंगाको बाटो प्रयोग गर्न समेत अपिल गरेका छन् । ‘केही काम परे मालढुंगाबाट जानुहोस्,‘जोखिम मोलेर बाटो खोल्न सकिदैन’ भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो ।

उहाँले वडाभित्रमा विदेशबाट आएकालाई समेत बेनीमा क्वारेन्टाइनमा राख्ने गरी नियमित गस्तीलाई समेत समुदायले सघाइरहेको बताउनुभयो । बागलुङमा संक्रमित देखिएपछि जिल्ला विपद् ब्यवस्थापन समितिले समेत नाकामा कडाई गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

Leave a Reply