विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण म्याग्दीमा फैलिन नदिन विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णयसँगै शनिबार १९ जना क्वारेनटाइनमा बसेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले न्यू वेष्ट पोइन्ट आवसीय माविमा निर्मित क्वारेन्टाइनमा बेनी नगरपालिकाका १६ जना, मंगला, अन्नपूर्ण र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका ३ जनालाई छुट्टाछुट्टै कोठामा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो। ‘उहाँहरुलाई कुनै कमी हुने छैन्,‘विदेशबाट आएका सबै बस्नुपर्छ’प्रजिअ ढकालले भन्नुभयो ।

चैत्र १ गते यता विदेशबाट आएका स्थानीय तहले बनाएको क्वारेन्टाइन वा बेनीमा आएर बस्नुपर्ने निर्णयले धमाधम क्वारेन्टाइनमा आउन थालेको कोरोना भाइरस रोकथाम समिति अन्र्तरगतको कमाण्ड पोष्टमा रेडक्रसका प्रतिनिधि सुरत केसीले बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गदैं क्वारेन्टाइनमा खानेबस्ने सहित इन्टरनेटको समेत सुविधा समेत रहेको केसीले बताउनुभयो । क्वारेन्टाइनमा आउनुपर्ने धेरै शनिबारसम्म सम्पर्कमा आएका छैनन् ।

हरेक दिन स्वास्थ्य परीक्षण गरिने र रिर्पोटका आधारमा आइसोलेसन वा घर फिर्ता पठाउने भन्ने निर्णय हुने कमाण्ड पोष्टले जनाएको छ ।

विदेशबाट गाउँ फर्किएकाहरुको स्थानीय तहमार्फत तथ्याङ्क सङ्कलन सुरु गर्नुका साथै खोजीकार्य तीव्र पारेकाले आइतबार वा सोमबारसम्म आउन अटेर गर्नेलाई कमाण्ड पोष्टले घरमै पुगेर ल्याउनेसम्मको योजना बनाएको छ ।

विदेशबाट फर्किएका १ सय १५ जनाको पहिचान
पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लाभर वैदेशिक रोजगारबाट फर्किएकाहरुमध्ये १ सय १५ जना स्थानीय तहको सम्पर्कमा आएका छन् । तीमध्ये बेनी नगरपालिकामा ३० जना, मंगला गाउँपालिकामा २७, मालिकामा २०, रघुगंगामा १५, अन्नपूर्णमा १४ र धवलागिरीमा ९ जनाको तथ्याङ्क सङ्कलन भएको छ ।

Leave a Reply