कोरोना भाइरसको संक्रमण म्याग्दीमा फैलिन नदिन विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय भएपनि शनिबार साँझसम्म जम्मा १९ जना क्वारेनटाइनमा बसेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति अन्तरगत गठित कमाण्डो पोष्टले जिल्ला भित्रका सबै स्थानीय तहमा चैत्र १ गते देश बाहिरबाट जिल्लामा प्रवेश गरेकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णयसंगै स्थानीयतह मार्फत जानकारी गराइएपनि अझै अटेर गर्ने, विभिन्न बाहना बनाउने र सम्पर्कमा आएका छैनन्।

चैत्र महिनामा जिल्लामा प्रवेश गरेका करिब–करिब तथ्याङ्क संकलन भइसकेको अवस्थामा समेत क्वारेन्टाइनमै बसेको, ज्वरो, रुघाखोकी लागेको छैन्,काठमाण्डौमै चेकजाँच गरेको जस्ता बाहना बनाउँदै गाउँमै खुलेआम हिड्ने गरेकालाई कोरो ना रोकथाम कमाण्डो पोष्टको शनिबार बसेको बैठकले फोर्स क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

कमाण्डो पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पटक–पटक सम्पर्क गर्दा समेत अटेर गर्ने, स्थानीय जनप्रतिनिधिको अनुरोधलाई समेत बेवास्ता गर्नेलाई दुई दिनभित्र घरमै पुगेर ल्याउने बताउनुभयो।

शनिबार साँझ बसेको कमाण्डो पोष्टको निर्णयले जिल्लामा भित्रिएकाहरुको ठेगाना सहित सम्पूर्ण विवरण तयार गरी जिल्लाका सरकारी कार्यालयका सवारीसाधनहरुको प्रयोग गरी फोर्स क्वारेन्टाइनमा राख्ने,बेनी जोड्ने नाकामा थप कडाई गरिने, स्थानीय तहसँग समन्वय गरी विदेशबाट आएका छिटफुट भएमा विवरण संकलन गर्ने लगायतका निर्णय समेत गरिएको छ।

अहिलेको अवस्थामा आफ्नो स्थानीय तहमा निर्मित क्वारेन्टाइनमा बस्न सकिने भएपनि सुरक्षाकर्मीले गाउँबाटै ल्याउँदा आफुँ अनुकुल नहुन सक्ने तर्फ सचेत हुनपर्ने कमाण्ड र्फोसका सदस्य एवम् नेपाल रेडक्रस सोसाईटीका सुरत केसीले बताउनुभयो।

शनिबार बागलुङमा भेटिएको संक्रमित समेत विदेशबाटै आएकाले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्दा समुदायमा देखिएको मनोबैज्ञानिक तनाव समेत कम हुने र जोखिम न्यूनिकरणमा सघाउने भएकाले आइतबार क्वारेन्टाइनमा बस्न विपद् ब्यवस्थापन समितिले अनुरोध गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लाभर वैदेशिक रोजगारबाट फर्किएकाहरुमध्ये १ सय १५ जना स्थानीय तहको सम्पर्कमा आएपनि यो संख्या बढ्ने देखिन्छ । बेनी नगरपालिकामा ३० जना, मंगला गाउँपालिकामा २७, मालिकामा २०, रघुगंगामा १५, अन्नपूर्णमा १४ र धवलागिरीमा ९ जनाको तथ्याङ्क सङ्कलन भइसेकको छ ।

स्थानीय तहमा पनि सुविधा

पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा विदेशबाट आएकालाई दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविको भवनमा ७ शैया क्षमताको क्वारेन्टाइनमा राखिने छ भने मंगला गाउँपालिका र बेनी नगरपालिका भित्रका लाई न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शैया क्षमताको क्वारेन्टाइनमा बस्न सुरु गरेका छन्।

त्यस्तै रघुंगा गाउँपालिका ८ वटै वडामा ५ बेडको दरले ४० शैया, अन्नपूर्ण गाउँपालिकामा हरेक स्वास्थ्य संस्थामा तीनवटा बेडको क्वारेन्टाइन बनाइएको छ । रघुगंगा विदेशबाट फर्किएकाहरु बस्न थालेका छन्। वडामा जनप्रतिनिधिलाई सघाउने गरी स्वयमसेवकहरुको टोली नै तयार गरिएको छ ।

हरेक वडामा न्यूनतम ४ देखि ५ जनाको स्वयमसेवकले घरदैलोमा जानेदेखि आवश्यकता परेमा तत्काल गाउँपालिकासँग समन्वय गर्नेछ । क्वारेन्टाइनमा बस्दा लागु हुने नियमका बारेमा जानकारी समेत गराइएको छ । क्वारेन्टाइनमा बस्नेको तस्वीर सञ्चारकर्मीले लिने छैनन् भने स्वास्थ्यकर्मीले निगरानी गर्नेछन् । कोरोनाको जोखिमलाई मध्यनजर गरी स्वास्थ चेकजाँच हुने छ ।

क्वारेन्टाइनमा राखिएकालाई कोरोनाको संक्रमणको जोखिम मानिने रुघाखोकी, ज्वरो लगायत आवश्यक स्वास्थ्य परीक्षण गरिने छ ।उपचारमा जोखिम मानिएको नमुना परीक्षणका लागी काठमाण्डौको टुके पठाइने छ भने नेगेटिभ आएमा घर फर्किने छन्।

Leave a Reply