विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि जिल्लाभर बनाइएको १ सय ८ बेडको क्वारेन्टाइनमा ३४ जना बसेका छन् ।

बेनी, मंगला र रघुगंगामा गरी ५ महिला र २९ पुरुष क्वारेन्टाइनमा बसेको कोरोना भाइरस रोकथाम समिति अन्र्तरगतको कमाण्ड पोष्टमा रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहमा समेत विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णयसँगै सोमबारबाट संख्या बढ्ने बताउनुभयो ।

‘विदेशबाट आएकाहरु धमाधम सम्पर्क आउनु भएको छ,‘चैत्र १ गते यता आएका अनिवार्य क्वारेन्टाइनमा आउनुपर्छ’ सदस्य केसीले भन्नुभयो ।

बेनीका वेष्ट प्वाइन्टमा ३ जना महिला समेत रहेको बताउँदै एकजनालाई एउटा कोठाको ब्यवस्था गर्ने प्रयास गरिएकोमा सम्भव नभए एउटा कोठामा २ जनालाई राखिने कमाण्ड पोष्टले निर्णय गरेको छ ।

आइतबारसम्म सम्पर्कमा नआएकालाई फोर्स क्वारेन्टाइनमा बस्न थप दवाव समेत दिइने निर्णय भएको छ । सरकारी निर्णयको उल्लंघन भएमा कानुन अनुसार कारवाही समेत गरिने चेतावनी दिइएको छ। स्थानीय तहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गदैं क्वारेन्टाइनमा खानेबस्ने सहित इन्टरनेटको समेत सुविधा समेत छ ।

यसैबीच आइतबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा रहेको कमाण्ड पोष्टको बैठकले तीनवटा निर्णय गरेको छ ।

११ सदस्यीय पोष्टको बैठकले बेनी अस्पतालमा ६ बेडको आइसोलेसन वार्डसँगै जिल्लाभर स्वास्थ्यकर्मीले लगाउने ८६ वटा पिपिई रहेको जानकारी दिएको छ भने खाद्यान्न सहित पेट्रोलियम पदार्थको नियमित बनाउने निर्णय गरेको छ ।

यसैबीच क्वारेन्टाइनमा बस्न अटेर गर्नेलाई सरकारको निर्देशनको अवज्ञा मान्दै लकडाउन संक्रामक रोग ऐन–२०२० अनुसार ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था रहेको भन्दै सोमबारसम्म सम्पर्कमा आउन समेत अपिल गरिएको छ । प्रहरीले लकडाउन उल्लंघन र निर्देशन अवज्ञा गर्नेलाई कानुनी उपचार बारे समेत टेलिफोनबाटै सचेत गराइसकेको स्रोतले जनाएको छ।

Leave a Reply