गत चैत्र १ गते यता बैदेशिक रोजगारबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनका बस्नुपर्ने नियम बनाइएपनि अटेर गरेको पाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको देशबाट आएका समेत गाउँघरमा खुल्ला हिड्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय अनुसार पटक–पटक क्वारेन्टाइनमा बस्न सूचना जारी गरिएपनि न्यून संख्यामा सम्पर्कमा आएका छन् ।

गत शुक्रबार कोरोना कमाण्ड पोष्टले विदेशबाट आएकाले होम क्वारेन्टाइनमा पालना गर्नुपर्ने नियमिलाई बेवास्ता गदैं गाउँघरमा हिड्ने, अनावश्यक हल्ला फैलाउने, समुदायले समेत असुरक्षित महसुस गरेपछि सदरमुकाम बेनीका साथै स्थानीय तहमा निर्मित क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

चैत्र यता भारत, खाडी र युरोपका लगायतका मुलुकबाट ६० जना आएको विवरण प्राप्त भएपनि बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा निर्मित क्वारेन्टाइनमा आइतबार साँझसम्म २२ जना बसेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। ‘हामीले उचित निर्णय गर्नेछौ,‘निर्देशनको पालना नगर्नेलाई घरमै पुगेर ल्याउँछौ’ प्रजिअ ढकालले भने । उनले जिल्लाका सबै स्थानीय तहमार्फत वडाका जनप्रतिनिधि र विपद् ब्यवस्थापन समितिले समेत विदेशबाट आएकालाई पटक–पटक सम्पर्क गरेपनि क्वारेन्टाइनस्थलमा आउन आनकानी गरेको अवस्थामा प्रहरी सहितको टोलीले घरमै पुगेर फोर्स क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेको छ। ‘उहाँहरु हाम्रो अनुरोधलाई अटेर गर्ने प्रयासमा हुनुहुन्छ,‘अटेर गरे कानुन आर्कषित गरेर समेत थप कारवाही गर्नेछौ’ प्रजिअ ढकालले भने ।

जिल्लामा चैत्र १ गते यता भित्रिएका खुलेआम हिड्ने गरेको अवस्थामा समुदायमा समेत नकारात्मक सन्देश प्रवाह भएपनि समुदायको अनुरोधलाई समेत अटेर गर्ने गरिएको गुनासो बढेको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरुमध्ये १ सय १५ जना स्थानीय तहको सम्पर्कमा आएका छन् ।

तीमध्ये बेनी नगरपालिकामा ३० जना, मंगला गाउँपालिकामा २७, मालिकामा २०, रघुगंगामा १५, अन्नपूर्णमा १४ र धवलागिरीमा ९ जनाको तथ्याङ्क सङ्कलन गरिएको भएपनि संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सबै स्थानीय तहमा प्रहरी सहितको टोलीले सरकारी सवारीसाधनको प्रयोग गरी घरमै पुगेर ल्याउने तयारी समेत गरेको छ।

सदरमुकाम बेनीमा ३०, रघुगंगा ४५, अन्नपूर्णमा १० र धवलागिरी गाउँपालिकाले १०, मालिका गाउँपालिकाले ८ ओटा र माउण्ट एरभेष्ट आमाविमा १० र बेनी अस्पतालले ६ ओटा आइसोलेसन बेड तयारी अवस्थामा छन् । जिल्लामा हालसम्म कुल ८९ ओटा बेड तयार गरिएकोमा आवश्यकता अनुसार बेडको क्षमता समेत बढाइएको अवस्थामा विदेशबाट आएकाले अटेर गरेकाले अधिकांस बेडहरु खाली छन् ।

Leave a Reply