शिब बोहोरा/ बाग्लुङ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा नेपाल पनि एक सातादेखि लकडाउनमा छ । सरकारले लकडाउन गरी सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको छ ।

कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै समुहमा जम्मा नहुन र घरबाहिर ननिस्कन स्थानिय सरकारले समेत आग्रह गरी अनुगमन गरिरहेको छ । तर गलकोट नगरपालिका २ मा स्थानिय कमला दर्जी र किशान दर्जिको घरमा सच्चाईको सत्संगमा प्रवचन सुन्नेहरु भेला हुन छाडेका छैनन् ।

निरु नेपालीले महिलालाई जम्मा गरी प्रत्येक शनिबार गवाई, वचन र भजनकीर्तन गरेर रोग निको पार्ने दाबि गर्दै आएकी छन् । सत्संगका सहभागीले गवाई, वचन तथा भजनकृतन गरिरहँदा यशु, पिता, परमेश्वरको नाम लिइरहेका हुन्छन् ।

त्यस्तै सहभागीबाट आफ्नो इच्छाअनुसारको दान उठाउने समेत गरिएको छ । आफूसँग भएको रकम अरुलाई नदेखाई दान उठाउने व्यक्तिको झोलामा खसाले आफूले चिताएको कुरा पुग्ने, कुनै रोग लागे निको हुने भन्ने अन्धविश्वास समेत छरिएको छ ।

गलकोट नगरपालिका२ का वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्तको नेतृत्वमा प्रहरीसहितको अनुगमन टोलीले कोरोना बारे सचेत बनाउने उद्धेश्यले अनुगमन गरी भेला भएको अवस्थामा भेटेको थियो । भेला नहुन आग्रह गर्दा गालीगलोच गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

धेरै जना जम्मा हुदाँ कारोना भाइरसको संक्रमण बढ्न सक्ने भएको भन्दै सचेत बनाउन खोज्दा सहभागी कमला दर्जिले आफूहरुलाई पिता परमेश्वरले कोरोना लाग्नबाट बचाउने बताउँदै भेला हुन नदिनेलाई नै कोरोना लाग्ने बताइन् । उनले जसले भेला हुन दिँदैन उसैलाइ काेराेना लाग्ने भन्दै गालिगलाेच गरेकाे अध्यक्ष भण्डारीले बताउनुभयो ।

करिब १५ जना सहभागी रहेको प्रवचन स्थलबाट घरमा पठाउदैँ आगामी हप्तादेखि गलकोटमा धर्म प्रचारको नाममा खोलिएको यस संस्था बन्द गर्न निर्देशन दिएको वडा अध्यक्ष भण्डारीको भनाइ छ । भण्डारीले गलकोट नगरपालिकाका सबै वडामा सत्सगं जस्ता संस्था खोलेर भेला भइ धर्म प्रचारको काम गरेमा कानुन बमोजिम कडा कारबाही गरिने बताउदैँ कोरोनाबाट बच्न घरमै बस्न र सावधानी अपनाउन आग्रह गर्नुभयो ।

धर्म परिवर्तन गर्नका लागी विभिन्न किसिमका रोगहरु निको पार्ने भन्दै भ्रम छर्न थालेको भन्दै गलकोट हटियामा गत २०७३ सालदेखि सञ्चालित सच्चाइको सत्संग नामक संस्था बन्द गर्न गलकोट नगरपालिका वडा नम्बर ३ ले २०७५ साल पौष २० गते निर्देशन दिँदै हटियाको कार्यालय बन्द गराएको थियो ।

Leave a Reply