जिल्लाको बेनी नगरपालिका–६ बास्बोटमा देवीप्रसाद शर्मा विहानैदेखि ब्यस्त हुन्छन्। कोभिड–१९ को महामारीको सम्भावित सङ्क्रमण रोक्न नेपालले पनि चैत्र ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेपछि यातायात तथा मानिसहरूको हिँडडुल बन्द प्रायः छ। विद्यालय लगायत सबै शैक्षिक संस्थाहरू बन्द अवस्थामा रहेका छन्। विश्वविद्यालयका परीक्षाहरू र माध्यमिक शिक्षा परीक्षा समेत स्थगित भएपनि शर्मा विहानैदेखि आफ्नै शिक्षण पेशाका साथीहरूसँग घण्टौ तालिममा जोडिन्छन्। शर्मासँगै देशभरका करिब १ सय शिक्षकले लकडाउनकोे समयलाई घरकै कोठाभित्र बसी सदुपयोग गरिरहेका छन्।

प्रविधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय प्राविधिक समितिको आयोजनामा चैत्र १४ गतेदेखि अनलाइन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेपछि देशभरका शिक्षकले लकडाउनमा जुम भिडियो कन्फरेन्सको माध्यमबाट शिक्षकहरूलाई प्रविधिमैत्री तुल्याई कक्षाकोठामा प्रविधिको पहुँच विस्तार गर्ने तालिममा सहभागी भएको केन्द्रीय महासचिव शर्माले बताए।

‘हामीले लकडाउनको समयलाई शैक्षिक बहसमा विताएका छौ,‘ प्राविधिक पेसागत विकासमा अभिवृद्धिमा सघाइरहेका छौ’ शर्माले भने। उनले करिब इन्टनेटको पहुँचमा रहेका शिक्षकहरुलाई विभिन्न किसिमका ज्ञान आदानप्रदान गर्ने गरेको बताए।‘फर द टिचर, बाइ द टिचर’ सिद्धान्तमा आधारित रहेर सञ्चालन भएको यस प्रकारको तालिमले शिक्षकको हुन गई अन्ततः विद्यालय तथा कक्षाकोठाको शिक्षण सिकाइ प्रविधियुक्त हुने र विद्यार्थीहरूको सिकाइमा टेवा पुग्ने विश्वास लिइएको केन्द्रीय अध्यक्ष भूपति बस्यालले बताए।

‘सिकेको सीपलाई देशभर पुर्याउन लकडाउनको समयले साथ दिएको छ,‘घरमा बस्दा कोरोना संक्रमणको जोखिम पनि नहुने, धेरै ज्ञान पनि सिकिने’ बस्यालले भने। उनले दैनिक दुई चरणमा तालिम सञ्चालनको तयारी भइहरको बताए।

नेपालका ७७ वटै जिल्लाका शिक्षकलाई जोड्ने योजना रहेको बताए। प्रविधिमैत्री शिक्षक समाज, नेपाल नेपालभरका तमाम प्रविधिमैत्री शिक्षकहरूको आत्मजागरणको उपज भएको हुँदा शिक्षकको पेसागत विकासका लागि तालिम नेपालमै नौलो अभ्यास भएको दावी समेत गरिएको छ।

प्रविधिको प्रयोग गरी शिक्षकहरूलाई आवश्यक पर्ने शिक्षण सिकाइ सामग्री निर्माणका लागि आवश्यक टुल्सहरू, अनलाइन टिचिङ, इमेल–इन्टरनेटको उपयोग, विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक साधनहरु निर्माण, वेव पेज डिजाइनिङ, हार्डवेयर, नेटवर्किङ, अफिस प्याकेज, अडियो भिडियो इडिटिङ, एडोब, मोबाइल टिचिङ तथा विभिन्न सिकाइ सफ्टवेयहरूको प्रयोग लगायत विषयगत शिक्षण सिकाइका लागि आवश्यक पर्ने विभिन्न विषयवस्तुहरू तालिम प्याकेजमा समावेश गरिएको प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले बताएका छन्।

तालिमलाई केन्द्रीय प्राविधिक समितिका शिक्षकहरूले नै सहजीकरण गरिरहेको पनि उनले बताए। केन्द्रीय प्रशिक्षकहरू तयार गरेपछि विस्तारै प्रदेश, जिल्ला र स्थानीय तहहरूमा पनि यस प्रकारका तालिमहरू सञ्चालन गरी सबै आधुनिक सूचना तथा सञ्चार प्रविधिमा शिक्षकहरूलाई सक्षम तुल्याउने समाजले जनाएको छ।

Leave a Reply