रेखाकौशल रेग्मी/ न्वारानको नाम रहेछ सुभद्रा ।नामै अनुसारको सुन्दर ,सुशील ,भद्र व्यक्तित्व र स्वभाव हुनुभएकी हाम्री ठूली फूपू जीबा जिआमाले प्रेमले बोलाइँदा ’सन्तू’ हुनुहुन्थ्यो।अति प्रेमले ठुली छोरीलाई सम्बोधन गर्नुहुँदा जीबा ’लाटी’भन्ने गर्नुहुन्थ्यो।

जीबा जिआमा भगवानका प्यारा हुनुभएको २० वर्ष पुगेछ।उहाँहरुकी ’सन्तू छोरी’ र ’केदार जुवाइँ’ दुबैजना यो चैतको ७ र १५ गते ९ दिन अन्तर पारी क्रमैले भौतिक चोलाबाट छुट्नुभई परमधामको गन्तव्यमा पहूँच बनाउनु भयो। आफूभन्दा दुई वर्ष सानी बहिनी स्वर्गीय भएकोमा विष्मात गर्दै सन्तू फूपू ’अति सरल र सुधी ’ हुनुभएको उहाँका दाइ मुकुन्द रेग्मीको प्रतिक्रिया छ।

’तामाका हत्तरमा भरेर बहिनीसित लामगराको कुवादेखि पानी खेपेको’स बहिनीले बिहानै उठेपछि ’शुक्रतारा देखिए दाइ,हिंड्नुहोस् पानी लिन जाऊँ’भनेका सम्झनाले उहाँ विभोर हुनुहुन्छ।जीबा जिआमाकी देवीस्वरुपा सन्तू फूपू आमाबाका जीवित ५ दाजुभाइ र ३ दिदीबहिनीमध्ये दोस्रो सन्तान हुनुहुन्थ्यो।

जीबाका मुखबाट सुनेको यौटा प्रसङ्गले फुपू देवी भगवतीको दिव्य प्रसाद हुनुहुन्थ्यो भन्ने विश्वास मेरा मनमा गढेको थियोे।जीबा जिआमाका कुनै सन्तान नजन्मिंदै वि.सं१९९४को ज्येष्ठी पूर्णिमा,म्याग्दी बिम धुरीको मालिका मन्दिरमा गई जीबाले रातैभर जाग्राम रहेर देवीसूक्त,सप्तशती चण्डी पाठ गर्नु भएछ।

यसैबीच एक झपक तन्द्रा अनुभवमै झलमलाकार देवी जीबाका सम्मुख साक्षात्कार हुनुभएछ।खोकिलाबाट अकस्मात् एक सुन्दर कन्या निकाली ’लौ लेऊ’भनी जीबाका हातमा थमाउनु भई देवी अन्तर्ध्यान हुनु भएछ।विष्मित र मुग्ध भई कन्या हातमा लिइरहनु भएका जीबालाई पुनस्दिव्यरुपिणी देवी दर्शन दिन आउनुभएछ।

’त्यो पछिलाई हो,ऐले लेऊ’देवीबाट आज्ञा भएपछि जीबाले कन्या देवीका हातमा फिर्ता राखिदिनु भएछ।देवीले ’ऐले यो लेऊ’ भन्नुहुँदै खोकिलाबाट यौटा सुन्दर बालक निकाली जीबाका हातमा थमाइदिनुभएछ। मिथकजस्तो लाग्ने तन्द्रानुभवको प्रतीकात्मक अर्थ लगाई जीबाले भन्ने गर्नुहुन्थ्यो ।

(’पहिलोपटक दिई पछिलाई भनी भगवतीले बालकसित साटेर कन्या फिर्ता नलैजानु हुन्थ्यो भने भने छोरा कृष्ण (हाम्रा जेठा बुवा मुकुन्द रेग्मी ) जन्मिनु पहिले सन्तु छोरी जन्मिने थिइन्।’मालिका भगवतीका प्रसाद स्वरुप १९९५मा जेठा बुवा र १९९७ चैतमा सन्तु फूपू जन्मिनुभएको जीबाजिआमाबाट सुनिएको हो।यो प्रसङ्गले फुपूप्रति विशेष आकर्षण र लगाव पैदा गरेकोे थियोे ।

उहाँको सालले ९ बर्ष,दिनले सातै बर्ष भर्खर पुगेको बालक कालैमा ७ बर्ष जेठा केदारनाथ पौडेलसित बिहे भएछ।बि.सं२००६ सालमा बिहा भई २०७६ सम्म ७० बर्षभन्दा बेसी अटल रहेको उहाँहरुको दाम्पत्य सम्वन्धलाई मृत्युुले पनि छुटटाउन सकेन।यहीँबाट मृत्युुयात्रा सम्मको हाम्री फुपूको सती चरित्र कथा सुरु हुन्छ ।

दुःखमा पनि दमौलीमा लक भइयो
२०७६ चैत १५,कोरोना भाइरसले निम्त्याएको त्रासका कारण लकडाउनमा ठप्प देश।बेनीदेखि गन्तव्य चितवन,दमौलीमा लक भइयो !सामाजिक सन्जाल फेसबुक हेरिबस्दा यौटा स्टाटसले ध्यानाकर्षण भयो (’८० बर्ष उमेरमा अहिले बिहान ४.३१ बजे आफ्ना पतिको स्वर्गवासको नवौं दिनको किरियावासमा सती स्वर्गारोहण हुनुभएकी सासूआमालाई हार्दिक श्रद्धाञ्जलि’।

आफ्नी ठूली फुपूको निधनको खबर तर समयले लाचार बनाउछ,उहाँका कान्छा जुवाइँको त्यो पोष्टसित धपक्क बलेको फुपूको मुहार!पटकपटक त्यो उज्यालो तस्बिर हेर्दै अँध्यारो मन पारिरहें।अपशोचमा एक शब्द ’फुपू ’कमेन्ट्पछि बुवालाई बेनीमा फोन गरें।

यही चैत ७ मा उपचार हुँदाहुँदै काठमाडौंमा ८७ बर्षे उमेरमा निधन हुनुभई कालीगण्डकीमा फुपूका पति केदारनाथ पौडेलको दाहसंस्कार गरेकामा फुपूलाई पनि अन्तिम संस्कार एउटै घाटमा गर्न सम्भव प्रयास हुँदै रहेछससमयको चुनौति ख्याल गरी जीबा (मेरी आमाका कान्छा बुवा हुनुभएकाले फुपूका नाताले पुसाज्यूभन्दा उहाँ निको मान्नु हुन्थेन ) को किरिया भैरहेको मालिका गाउँपालिकाकै म्याग्दी नदीमा अन्त्येष्टि गरे हुने मेरो विचार बुवासित राखें।

उता आफ्नी ठूलीदिदीको अन्तिम विदाईपछि बुवाले ’विव्हल रहेको’ टिप्पणी गर्दै गए तिहारमा टीका(मालासहित दिदीभाइको यौटा र घाटमा चितामाथि दिदीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जलि चढाउँदै गरेको अर्को तस्बिर फेसबुकमा राख्नुभयो।

दृश्यले त्यो परिस्थिति र बुवाको मनस्थिति कल्पना भएजति शब्दमा चित्रण नहोला ! बुवासित टाढा भए पनि यो समय उहाँको दुखाइसित जोडिन दोस्रोपटक फोन गरें।
गहिरो दुस्ख बुवाका आवाज बनी ध्वनि यन्त्रको माध्यम भई मेरा कानमा बज्न आए।

आठौं दिनको किरियाकर्ममा गरुडपुराण वाचन गर्ने पुरोहितबाट सती स्त्रीको महिमा सुनेपछि फुपू भावुक हुनुभई मनैमन सम्भवतः केही निश्चय गर्नुभएछ। पतिको मृतशरिरसित चितामा जली,किरियाभित्र पवित्र अवस्थामा समेत प्राणत्याग हुने स्त्री सती हुने,यस्तो मृत्युवरणबाट स्त्री स्वयं र दिवंगत पति समेतलाई मोक्ष प्राप्त हुने गरुडपुराणको गहिरो प्रभाव पर्यो होला ।

१५ गते बिहान १ बजे केही असजिलो महसुस भई जागा हुनुभएछ।नुहाउने इच्छा गर्नुहुँदा ’अलि अँध्यारै रहेको’ भनिएपछि सामने भएका छोराबुहारी,छोरीजुवाइँ,नातिनातिना सबैलाई ’राम्ररी मिलेर बस्नू’भनी उपदेश र ’तिमीहरूलाई मेरो आशीर्वाद छ’भनी सद्भाव दर्शाउनु भएछ।

भान्जा र कान्छा जुवाइँलाई वैतरणी पाठ गर्न भन्नुभएपछि तत्कालै पाठ सुरु गरिएछ।पछिल्लो अवस्था कसैलाई अनुमान नहुँदै उहाँका दृष्टिपटल जोडिएछन्। बुवासितको फोन प्रकरण,फुपूका सांसारिक जीवन का अन्तिम पलहरुका संक्षेप सार थिए।

उहाँका कान्छा छोरा बासुदेव,छोरी उमादेवी(चण्डी ) र जुवाइँ दिवाकर सुवेदीसित टेलिफोन सम्वादबाट फुपूको मृत्युयात्राको थप पुष्ट्याइँ भयो।कुनै पनि मृत्यु स्वाभाविक र सामयिक हुँदैन।समयका ८० बर्षको चक्र पार हुनुभएकाले यौटा पूर्ण जीवन बाँच्नु भयो।सात बर्षको उमेरमा जोडिएको पतिपत्नी नातामा आजन्म रही ६ छोरी ,३ छोराको उचित लालनपालन,पढाइ ,बिहावारीको कर्तव्य पुरा गर्नुभयो ।

जन्म र मरणको स्वाभाविक चक्रबाट गुज्रिनुपर्ने नियतिले बाँधिएको जीवात्मा स्वरुपका चौरासी जीवन झेल्नै नपरी मोक्ष हुने पुण्यात्मासम्वन्धी शास्त्र पुराणका कथन सत्य भएदेखि निश्चयै आफ्ना पतिका साथमा फुपूलाई बैकुण्ठ प्राप्ति भएको हुनुपर्छ।शास्त्रपुराणहरुले सती नारीको महिमा निकै उँचो रुपमा औंल्याएकै छ।

जगतका अधिपति ब्रह्मा,बिष्णु,महेश्वरलाई बालक रुप धारण गराई मातृवत् स्थान लिन समर्थ सती अनसूया,सतीत्व परीक्षा लिने जगत्का अधिपति बिष्णुको कपटपूर्ण

बेहोरालाई दण्डित गरी पत्थर,घाँस र वृक्ष भई रहनुपरोस् भनी श्रापित गर्ने जालन्धर पत्नी वृन्दा,यमराजसित याचना गरी मर्त्यलोक सम्म पुगी मृत पतिलाई पुनर्जी्वित गराउने सत्यवानकी सती सबै पौराणिक मिथकहरुमा चर्चा भएका स्त्रीरत्न हुन्।फुपूले बाँचुन्जेल पालना गर्नुभएका कर्तव्य र संस्कारले उहाँलाई उनै नारीरत्नहरुका हारमा उठ्ने ठाउँ मिलेको अनुभव हुँदैछ।सामान्य गृहस्थीकी स्वामिनी ,ठूला ओहदा र बडेबडे चर्चा,चमकधमकदेखि बेखबर,साधारण गृहिणी रहेरै हाम्रो मनको सम्मानपूर्ण थलोमा अटाउनु भएकी स्वर्गीय फुपू र उहाँका बैकुण्ठवासी पतिमा सतत् श्रद्धाञ्जलि ।