कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि सरकारले देशैभरी लागुहुने गरी लकडाउन गरेपछि ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न र मजदुर वर्गलाई बिहान बेलुकी खानेकुराको समेत समस्या हुन थालेको छ । गरिब र मजदुरहरुको यही पीडालाई बुझेर म्याग्दीको एक गाउँपालिकाका वडाअध्यक्षले गाउँकै हुनेखानेहरुसंग चन्दा उठाएर रु १ लाखको खाद्यान्न खरिद गरी गरिब र मजदुरका परिवारलाई वितरण गर्ने अभियान शुरु गरेका छन् ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमका वडाअध्यक्ष रेशम जुग्जाली (सबिन) ले आफ्नो वडामा रहेका कर्मचारी,शिक्षक र हुनेखाने परिवारका व्यक्तिहरुसंग चन्दा संकलन गरी गरिब र मजदुर परिवारलाई मंगलवार (आज) खाद्यान्न वितरण गरेका हुन् ।

वडा कार्यालयको संयोजकत्वमा वडा अध्यक्ष जुग्जाली ( सुविन) ,स्थानीय पाँच युवा क्लब ,समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड –१९ )को कारण देशमा गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सामाग्री तथा हात धुने साबुन वितरण गरिएको हो ।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको लकडाउनबाट प्रभावित वडा भित्रका अति विपन्न दलित परिवार , बेसहारा गरिब बृद्धबद्धा र बालबालिका तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आइरहेका मजदुर परिवार गरी करिब ४५ घरधुरीलाई वडा कार्यालयको संयोजत्व र स्थानीय युवा क्लब ,समाजसेवी तथा विभिन्न संघसंस्थाको सहयोगमा दैनिक उपभोग्य खाद्य सामाग्री र हात धुने साबुन वितरण गरिएको छ ,’वडा अध्यक्ष जुग्जालीले भने ।

करिब ४५ घरधुरीलाई आगामी २५ गतेसम्म पुग्ने दैनिक उपभोग्य खाद्य सामाग्री दाल ,चामल ,नुन,तेल र हात धुने साबुन सहयोग गरिएको सहयोगी संस्था हिराजित स्मृती युवा क्लबका अध्यक्ष प्रेम बहादुर जुग्जालीले जानकारी दिए । उनका अनुसार राहत सामाग्री घरदैलोमा गएर वडा अध्यक्षको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।

अपरिचितलाई प्रवेश र गाउँलेलाई बाहिर जान निषेध

कोरोना प्रकोप जोखिम गाउँमा भित्रन नदिन र कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयावधीभर विममा अन्य गाउँबाट आउनेलाई प्रवेश निषेध गरिएको छ । त्यसैगरी अत्यन्त जरुरी काम बाहेक सामान्य कामका लागि गाउँलेहरुलाई आफ्नो गाउँबाट बाहिर जान समेत निषेध गरिएको छ । अध्यक्ष जुग्जालीले सावधानी र सतर्कता अपनाउन र लकडाउनका पुर्णपालना गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

यी हुन मनकारी व्यक्ति र संघसंस्थाहरु
वडा कार्यालयको संयोजकत्वमा चलाइएको आर्थिक सहयोग संकलन अभियानमा हिराजित स्मृती युवा क्लबले १५ हजार,हिमाली युवा क्लबले १५ हजार ,बिमबाङ्ग युवा क्लबले १५ हजार ,जन्मभुमि युवा क्लबले १० हजार र ढुनोट युवा क्लबले ५ हजार रुपैयाँ सहयोग गरेका छन ।

यसैगरी वडा अध्यक्ष जुग्जालीले ५ हजार ,समाजसेवी एवम् मोना हङकङका पुर्व अध्यक्ष मनोज शेरपुञ्जाले १९ हजार र वडा सदस्यहरु, किसानी माविका प्रअ ,शिक्षक ,तल्लो गाउँ टोल सुधार समितिका अध्यक्ष ,वडा सचिव लगायतको सहयोग गरी करिब एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री खरिद गरी वितरण गरिएको अध्यक्ष जुग्जालीले बताए । वडा अध्यक्ष जुग्जालीले खाद्य सामाग्री ढुवानीका लागि निशुल्क ट्याक्टर तथा ट्याक्सी धनी चाम्बीर जुग्जालीले निशुल्क यातयात सेवा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ ।

Leave a Reply