पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिर्पोट पनि नेगेटिभ आएको छ । कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका एक युवा र युवती संग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताउनुभयो ।

पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका युवा गत चैत्र ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाट युवती संगै पोखरा आएका थिए भने नाङ्गलीबाङ्गका युवा संक्रमितका नातेदार हुन ।

दुबै युवाको थ्रोड स्वाब सोमबार परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो ।

आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता सम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा. देबकोटाले बताउनुभयो । संक्रमणको आशंका युवाहरुको परिक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुको पनि थ्रोड स्वाब परिक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाईनमा बस्न नपर्ने जनाइएको छ ।

Leave a Reply