जन्मदिन मनाउने आ–आफ्नै तरिका र शैली हुन्छन् । जन्मदिनमा कतिपयले ठूलो मात्रामा खर्च गर्ने गरेको पाइन्छ ।

जन्मदिनको अवसर पारेर आफ्ना साथी भाइलाई बोलाएर भव्य रुपमा पार्टी समेत दिने गर्दछन् । तर, कतिपयले भने जन्मदिनमा मठमन्दिरमा पुजाआजा गर्ने, बालबालिकालाई शैक्षिक सामग्री दिने जस्ता सामाजिक कार्य गर्ने गरेको सुनिन्छ ।

यसैक्रममा मङ्गलबार आफ्नो जन्मदिनको अवसर पारेर म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँले आफूले अध्ययन सुरु गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन्।

बेनी नगरपालिका–५, चिप्लेटी स्थायी घरभई हाल बेनीमा बसेर पत्रकारिता गर्दै आइरहेका पत्रकार बानियाँले चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई सहयोग गरेको बताएका हुन् । उनले जन्मदिनको अवसरमा नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ विद्यालयलाई दिएको जानकारी दिए ।

गतवर्ष जन्मदिनको अवसर पारेर म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी आजीवन सदस्य बनेका पत्रकार बानियाँले यसवर्ष आफूले शिक्षाको ज्योती सुरुवात गरेको विद्यालयलाई आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।

जन्मदिनको नाममा फजुल खर्च गर्नुभन्दा थोरै भए पनि शैक्षिक क्षेत्रको विकासमा खर्च होस् भन्ने उद्देश्यसहित सहयोग गरेको उनले बताए ।

म्याग्दीको पत्रकारिता क्षेत्रमा क्रियाशिल बानियाँ जिल्लाबाट प्रकाशन हुने रुप्से दैनिक पत्रिकाको सह–सम्पादक हुन् । उनी सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनको म्याग्दी जिल्ला संवाददाताका रुपमा कार्यरत छन् ।

पत्रकार बानियाँ उज्यालो रेडियो नेटवर्क, नेपाल समाचारपत्रको जिल्ला संवाददातासहित स्थानीय सञ्चारमाध्यममा समाचार लेख्छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यसमिति सदस्य समेत रहेका उनी प्रेस सङ्गठन म्याग्दीको जिल्ला सहसंयोजक हुन् ।

Leave a Reply