कोरोना संक्रमित बागलुङकी १९ बर्षिय युवतीको परिवारको ४ सदस्यको नमुना परीक्षण रिपोट नेगेटिभ आएको छ ।
बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिका–४ की किशोरीमा भाइरस संक्रमण देखिएपछि उनको ७ जनाको परिवारको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएकोमा ४ जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।

सूचना अधिकृत गौतमले संक्रमित युवतीका बुबा, हजुरबुबा, फुपुका एक छोरा र एक छोरीमा भाइरसको संक्रमण नदेखिएको बताउनुभयो ।

शनिबार किशोरीमा भाइरसको संक्रमण देखिएपछि सोमबार दिउँसो उनीसँगै बुबा, हजुरबा, हजुरआमा, फुपु र उनका छोराछोरी गरी ८ जनाको स्वाब परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

यस्तै उनीसँगै आएकी बा.न.पा.–३ की एक महिला र उनलाई ल्याउन काठमाडौं गएका पुरुष सहित उनी सवार विमानमा कतारदेखि आएका ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका युवाको स्वाब परीक्षणको लागि पठाइएको छ ।

हालसम्म ४ जनाको मात्र रिपोर्ट आएको र अरुको बेलुका सम्म आउने अस्पतालका सूचना अधिकृत गौतमले जानकारी दिनुभयो ।संक्रमित युवतीलाई शनिबारदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply