बागलुङबाट थप एक युवाको नमुना परीक्षणको लागि पठाइएको छ । काठेखोला गाउँपालिका–४ तंग्रामका एक युवामा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणको पठाइएको हो ।

चैत ७ गते स्पेनबाट घर आएका उनलाई ज्वरो आउने समस्या देखिएपछि बुधबार नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट डिल्ली आचार्यको टोलीले मंगलबार युवाको घरमै पुगेर घाँटीको स्वाब निकालेको थियो । उनी हाल होम क्वारेन्टाइनमा बसेका छन् ।
यस अगाडी बागलुङबाट पठाइएको नमुना परीक्षणमा एक जना युवतीको पोजेटिभ आएको छभने अन्यको नेगेटिभ आएको छ ।

मंगलबार विहान संक्रमित युवती सहित उनको परिवार र सँगै आएकाहरु गरी ११ जनाको नमुना परीक्षणको लागि काठमाडौं पठाइएको थियो । उक्त ११ जना मध्य दिउँसो ४ बजेसम्म चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित युवतीको बुबा, हजुरबा र फुपुका एक छोरा र एक छोरीलाई संक्रमण नभएको पुष्टि भएको हो । अन्यको रिपोर्ट बेलुका सम्म आउने स्वास्थ्य कार्यालयका प्रमुख गुरौले जानकारी दिनुभयो ।

Leave a Reply