पर्वतको जलजला गाउँपालिकाले पछिल्लो चरणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि बनाएको ३० लाखको कोषमा अध्यक्ष रामकृष्ण मल्लले ब्यक्तिगत रुपमा २ लाख सहयोग गर्नुभएको छ ।

विहीवार सम्पन्न कार्यपालिकाको वैठकले गाउँपालिकाभित्र मजदुरी गरेर जिविकोपार्जन गरि बस्ने श्रमिकहरुलाई राहत समेत दिने निर्णय गरेको छ ।गाउँपालिकाले पहिलो चरणमा १२ लाख बराबरको राहत बाँड्ने गरि मापदण्ड तयार गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

‘आजको वैठकले गाउँपालिका स्थित मोहनचोकमा २० वटा बेडको क्वारेन्टाइन स्थापना गर्ने र कुश्मामा स्थापना भएको आईसोलेशन वार्डका लागि ७ लाख रूपैयाँ सहयोग गर्ने निर्णय समेत गरेका छौं ।’ अध्यक्ष मल्लले भन्नुभयो ।

अध्यक्ष मल्लले आफूले सहयोग गरेको व्यक्तिगत दुईलाख रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालाई हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष मल्लले यसअघि पनि कुश्माको अर्मादीदेखि बगरफाँटसम्म कोरोना विरूद्धको औषधि (क्लोरिन) छर्किनको लागि व्यक्तिगत रुपमै ३० हजार रूपैयाँ खर्च गर्नुभएको थियो ।

गाउँकार्यपालिकाले बिपद कोषमा राहत सामाग्री साथै नगद सहयोग गर्नका लागि सबै दाताहरूलाई आव्हान समेत गरेको छ । सहयोगीहरुले गाउँपालिकामा सम्पर्क गर्न सक्ने बताउँदै पालिकाभित्र एकद्धार प्रणालीवाट राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

Leave a Reply