कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको दुईसाता लामो लकडाउनले ज्यालामजदुरी गर्नबाट बन्चित भएकालाई जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण सुरु गरेका छन् । लकडाउनले मजदुरी गर्न नपाएपछि समस्यामा परेका, विपन्न र अपाङ्ता भएकालाई राहत वितरण सुरु गरिएको हो।

शनिबार बेनी नगरपालिका-८ ले वडाभित्रका विभिन्न स्थानमा विपन्न, मजदुर र अशक्त गरी ६३ घरधुरीलाई प्रति परिवार चामल २५ केजी खाने तेल २ लिटर चिनी २ केजी नुन २ केजी साबुन ४ पिस दाल ३ केजी बितरण गरिएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो। उहाँका अनुसार वितरण गरिएकामा ६ घरपरिवारलाई आधा प्याकेज र ५७ परिवारलाई प्याकेज वितरण गरिएको बताउनुभयो ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार परिवारभित्रको सदस्य संख्याको आधारमा वितरण गरिएको बताउनुभयो । राहत वितरणमा वडा सदस्य हिरा पुन, हिम बहादुर भण्डारी र भिमकुमारी विकको उपस्थिती रहेको थियो ।

बेनपा-७ राहत लिएर घरदैलोमै
लकडाउनका कारण राहत वितरणमा अनावश्यक भिडभाड हुने जोखिमलाई मध्यनजर गरी अध्यक्ष श्रेष्ठले मापदण्ड अनुसार संकलन गरिएको बिवरण लिएर घरदैलोमै पुग्नुभएको थियो ।

शुक्रबार र शनिबार गरी वडाले १ सय २० जनालाई राहत वितरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘बसेको ठाउँमै राहत पुगेपछि उत्साहित हुनुहुन्छ,‘उहाँहरुलाई घरभित्रै बस्न अनुरोध समेत गरेका छौ’ श्रेष्ठले भन्नुभयो ।

बेनीबजारमा दैनिक ज्यालामजदुरी गर्नेहरु भोकभोकै बस्नुपर्ने अवस्थालाई मध्यनजर गरी यसअगाडी वडामार्फत लायन्स क्लव बेनी पिस सिटीले ५० बोरा चामल हस्तान्तरण गरेको थियो ।

वडा अध्यक्ष श्रेष्ठसँगै सदस्य टकसरा राना र सर्मिला किसानले नगरपालिकाको सवारीसाधनमार्फत राहत वितरण गर्नुभएबो थियो ।

नगरपालिकाले प्रभावितले नागरिकताको फोटोकपी र तस्बीर सहित आवेदन फारम संकलन गरी वडामा गठन हुने छानविन समितिले छनौट गरेर राहतका लागि नगरपालिकाबाट अनुमोदन भएकालाई वितरण गरेको थियो ।

गाउँपालिकामा समेत धमाधम राहत वितरण
जिल्लाको धवलागिरी गाउँपालिकाले वडा नं २ बाट राहत वितरण सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार राहत वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले बताउनुभयो । उहाँका अनुसार लुलाङमा सकिएलगत्तै वडा नं ७ ताकमको मच्छिम गाउँमा समेत वितरण गरिएको बताउनुभयो। गाउँपालिका भित्रका सबै वडामा वितरण गरिने छ । यता मालिका गाउँपालिकाले समेत वितरण सुरु गरेको छ । त्यस्तै रघुगंगा गाउँपालिकाले वडा नं ६ पाखापानीबाट राहत वितरण सुरु गरेको छ ।

स्थानीय तहले कोरोना बिरुद्धको कोष र गण्डकी प्रदेशले नगरपालिकालाई दश र गाउँपालिकालाई पाँच÷पाँच लाख रुपैयाका दरले बजेट उपलब्ध गराएको राहतबाट वितरण गरिएको थियो । राहतबाट विपन्न र मजदुरी गर्नेहरु उत्साहित भएका छन्

Leave a Reply