सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै आइतबारदेखि एक स्थानीय तहबाट अर्कोमा आवतजावतमा पूर्णरुपमा रोक लगाएको छ । लकडाउनलाई थप कडा बनाउने निर्णयसँगै अव जिल्लाभित्रको एक स्थानीय तहबाट समेत अर्कोमा जान पाइने छैन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो ।

एकैदिन थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न प्रदेश सरकारमार्फत स्थानीय तहलाई सर्कुलर गर्न निर्देशन दिइएको छ । सरकारको निर्णयसँगै म्याग्दीका ६ वटै स्थानीय तहका बस्नेहरुलाई समेत थप कडाई हुने भएको छ ।

बेनी नगरपालिका र पाँच गाउँपालिकामा आवतजावत गर्नेलाई प्रवेश गरेको नगर तथा गाउँपालिकामै रहेको क्वारेन्टाइनमा राख्न सकिने छ। जिल्लाभित्रका स्थानीयतहसँगै छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट समेत अव बेनीमा प्रवेश गर्न पाइने छैन् । सरकारको निर्णयसँगै म्याग्दीमा समेत थप योजना सहित अगाडी बढ्ने तयारीा रहेको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।

हाल आपत्कालिन अवस्था भन्दै सर्वसाधारण समेत आवतजावत गर्ने गरेकोमा आइतबारदेखि वारीबेनीबाट प्रवेश गरेमा न्यू वेष्ट पोइन्टको क्वारेन्टाइनमा राखिने छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० चैतदेखि देशभर लकडाउन गरेको छ । सुरुमा चैत १८ गतेसम्म गरिएको लकडाउनको अवधि थप गर्दै हाल २५ चैतसम्म पुर्याइएको थियो ।

Leave a Reply