छिमेकी जिल्ला बागलुङबाट आइतबार ४ जना बरंजामा प्रवेश गरेपछि सिमाना जोडिएका स्थानीय तहमा सडकसँगै सबै पदैलमार्ग अनिश्चितकालका लागी ‘सिल’ गर्न स्थानीयले माग गरेका छन् ।

बागलुङमा दुईजना कोरोना संक्रमित देखिएसँगै सिमा जोडिएका म्याग्दीका चार स्थानीय तहमा आवतजावत रोक्ने गरी नाका क्षेत्रमा गस्ती लगायतका आवश्यक सुरक्षाको सावधानी अपनाउन स्थानीयले नै माग गरेपछि जनप्रतिनिधिहरु सक्रिय भएका छन् ।

आइतबार म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा बागलुङको काठेखोला गाउँपालिकाबाट बेनी नगरपालिका–३ भकिम्लीको हुदै १ जना र ताराखोला गाउँपालिका हुदै तीनजना प्रवेश गरेपछि सिमानामा कडाई गरिएको बेनपा–३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

‘नाकामै कडाई दिनुपर्ने देखिएको छ,‘घुम्न र भेट्न आउने रोकिएको छैन’ अध्यक्ष पुनले बेनीअनलाइनलाई भन्नुभयो । लकडाउनको अवधिमा समेत सवारीसाधन, पैदलमार्गबाट आवतजावत नरोकिएपछि सिमानामै गस्ती गर्ने, सूचनामार्फत जानकारी गराउने र आवश्यकता अनुसार दुई जिल्लाका स्थानीय तहबीच नियमित समन्वय समेत गर्ने प्रयास भइरहेको अध्यक्ष पुनको भनाई छ । बागलुङसँग जोडिएका बस्तीहरुमा दैनिक आवतजावत हुने तथा बागलुङमा विदेशबाट फर्किएकाहरु आउन सक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी बेनी नगरपालिका, मंगला, मालिका र धौलागिरी गाउँपालिकाले आफ्ना नाकाहरुमा आवतजावत बन्दलाई थप प्रभावकारी बनाउने तयारीमा जुटेका छन् ।

बेनपा को वडा नं १ रत्नेचौरको अर्जम, वडा नं २ ज्यामरुककोटको भकुण्डे, गौस्वँरा, वडा नं ३ भकिम्लीको स्वर्गाआश्रम, बेलढुंगाबाट आवतजावत गर्ने गरिन्छ । बेनपा–१ अर्जमका करिव १ सय घरधुरीको बागलुङको छर्दी, चनौटे, बोकका, चिलबस्ने, मुहना लगायतका क्षेत्रमा खेतीपाती नै रहेको छ ।

त्यस्तै मंगला गाउँपालिका वडा नं ३,४ बरंजा र वडा नं ५ अर्मन, मालिका गाउँपालिकाको वडा नं १ निस्कोट, वडा नं २, ३ रुम, वडा नं ४ ओखरबोट र वडा नं ५ देविस्थानबाट समेत बागलुङ जान सकिन्छ।

यता धवलागिरीको वडा नं १ गूर्जा, २ लुलाङ र वडा नं ३ मुनाबाट बागलुङ जोडिने नाकाहरु बन्द गरिएको छ । रुम र ओखरबोटबासीले सोलेडाँडा हुदै बागलुङ जाने गरेका छन्। स्थानीय वडाले नाकाहरुमा सवारीसाधन समेत आवतजावत गर्न नमिल्ने गरी बन्द गर्नुको साथै चेकपोष्ट समेत राखिने जनप्रतिनिधिको भनाई छ।

सिमाना जोडिएका बस्तीहरुबाट पहल गरिएपनि प्रवेशा पूर्ण रोक लगाउन नसकिएको जनप्रतिनिधिले स्वीकार गरेका छन् । सडक सञ्जालमा सबैभन्दा कडा बेनपा–१ रत्नेचौरमा देखिएको छ। स्थानीयले आलोपालो गदैं नाकामा गस्ती गरेका छन् ।

Leave a Reply