पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीकी सिता विक बस्तीभन्दा टाढा रहेको गोठमा बसेकी छन् ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला बाहिरबाट गाउँमा पुगेकी विकले सवारीसाधन वा अन्य कुनै कारणले कोरोनाको संक्रमण भएको हुनसक्ने भन्दै बस्तीमा क्वारेन्टाइनमा नबसी करिब एक घण्टाको दुरीमा रहेको सलिना भन्ने ठाउँमा रहेको गोठमा बसेकी हुन् ।

विकजस्तै रामबहादुर विक, रविन्द्र रोका लगायत सातजना मुदीको लेगत र सलिन भन्ने क्षेत्रमा रहेको आफ्नै गोठमा बसेका छन्। उनले बस्तीभित्रै बस्ने स्थान भएपनि आफुँले गोठमा करिव दुईसाता बस्ने गरी आएको बताईन् । ‘ब्यक्ति सुरक्षित भए परिवार जोगिन्छ, राष्ट्रको प्रयास सफल हुन्छ’ विकले भनिन् ।

विदेशबाट फर्किएकाहरु घरमा नपुग्दै परिवारले नै ठाउँ तयार गरिदिने गरेका छन् । मुदीमा गाउँबाहिरबाट आएकाहरु सिधै गोठमा जान थालेपछि स्थानीयलाई समेत सहज भएको छ ।

गाउँपालिकाले विदेशबाट मात्रै नभई जिल्लाका अन्य स्थानबाट समेत गाउँमा प्रवेश गर्नेलाई समेत अनिवार्य होम क्वारेन्टाइन र पालिकाले बनाएको स्थानमा बस्नुपर्ने नियम अनुसार मुदीका करिव ९ जनाले गोठलाई ने क्वारेन्टाइन बनाएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

गाउपालिकाले वडास्तरमै क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नेहरूको समेत नियमित निगरानी गर्ने गरेको बताए । उनका अनुसार ७ वटै वडामा १८ जना रहेकोमा यो क्रम दैनिक बढ्ने बताए । जिल्लाभर आफ्नै प्रयासमा बस्तीभन्दा टाढा गोठमा करिब १० जना बसेको अनुमान गरिएको छ ।

Leave a Reply