प्रकृति, संस्कृति र इतिहासको त्रिबेणी–ताकमकोट । धौलागिरि गाउँपालिका–७, म्याग्दीमा पर्ने ताकमकोट ९२,५०० मिटरमा जगन्नाथ र अन्नपूर्णको कलात्मक मन्दिर छ । मन्दिर सँगैको भवनमा प्राचीन हतियारहरू ढाल, तरबार, तोप र छेलो राखिएको छ । बाहिर खुला आकाशमुनि ओदान पनि छ ।

जगन्नाथ–अन्नपूर्ण शक्ति पिठ हुन् । मन्दिर निर्माण समितिका अध्यक्ष तेजिन्द्र बहादुर थापाका अनुसार विसं २०७२ वैशाख १२ को भुकम्पले मन्दिर जिर्ण बनेपछि नयाँ मन्दिर बनाइएको । कोटमा विशेषतः बडा दशैं र शनिबार तथा मंगलबार भिड लाग्छ । दशैंमा पञ्च बली दिइन्छ ।

भारतीय सेनाका रिटायर्ड लाहुरे समेत रहेका थापाको अगुवाईमा मन्दिर बनाइएको हो । चन्दा रकम करिब एक करोड रुपैयाँमा दुई तले मन्दिर, सत्तल र शौचालय बनाइएको ।

इतिहास अनुसार चौबिसे शासनकालमा ताकमकोटमा बसेर विसं १२४६ देखि १५४५ सम्म आत्रेगोत्रीय बगाले थापाले राज्य चलाएका थिए । पछि विसं १८४२ सम्म समालवंशी मल्लहरूले शासन गरे ।

विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा एकीकृत गरेको थियो । नेपाल राज्यमा बिलिन हुनु अघि थुम ताकम राज्यले सेरोफेरोका गाउँमा शासन गथ्र्यो ।

प्राकृतिक हिसाबले समेत ताकम मनमोहक छ । त्यहाँबाट हिमालको दर्शन गर्न सकिन्छ । गुर्जा, चुरेन, धौलागिरि, मानापाथीदेखि अन्नपूर्ण हिमालसम्मको । अर्को जानकारी ताकम हुँदै ढोरपाटन शिकार आरक्ष, धौलागिरि राउन्ड, गुर्जा र गुरिल्ला पदमार्गको यात्रा गरिन्छ ।

ताकम जातजातिको सुन्दर फुलबारी हो । यहाँ मगर, छन्त्याल, क्षत्री, बाहुन, गुरुङ, थकाली, गिरी, दमाई, कार्मी, सार्की आदि जातजाति मिलेर बसेका छन् । गाउँमा ३३५ धुरी छन् । धान, मकै, कोदो र आलु ताकमको मुख्य उत्पादन । सागसब्जी राम्रो हुन्छ । घरघरै जस्तो बाख्रा, कुखुरा र भैंसी पालिएको छ ।

ताकमकोटलाई धार्मिक पर्यटनको नमूना गन्तव्य बनाउने प्रयास जारी छ । म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यका अनुसार ताकमको भबिश्य उज्यालो छ । ताकम गाउँमा आधा दर्जन होटल छन् ।

विसं २०७६ असारदेखि गाउँमा क्षेत्री र बाहुनका ५ घरमा होमस्टे चलाइएको छ । सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण भण्डारीका अनुसार एक छाक सादा खानाको २५० रुपैयाँ र सुतेको १०० रुपैयाँ तिर्नु पर्छ ।

एउटा सुझाब– दुई रात ताकम गाउँमा बस्ने गरी यात्रा बनाउँदा ताकमकोट दर्शनका साथै म्याग्दी खोलामा पौडी खेल्ने नभुलौ है ।

कसरी पुग्ने: काठमाडौं–पोखरा–बेनी २८८ किमि, बसमा ९ घन्टा । बेनीबाट पश्चिम ३२ किमिमा ताकम गाउँ । ताकमबाट ३ किमिमा ताकमकोट । बेनी बजारबाट धौलागिरि गाउँपालिकाको केन्द्र मुनाका लागि छुट्ने बसमा ४ घन्टामा ताकम पुगिन्छ । ताकममा बसबाट ओर्लेर कोट पुग्न उकालो चढ्नु पर्छ । Source:barnanmedia.com

Leave a Reply