विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन मंगला गाउँपालिकाले छिमेकी जिल्ला बागलुङबाट गाउँपालिका भित्र प्रवेश गरेका दुईजनालाई क्वारेन्टाइनमा राखेको छ ।
बागलुङमा दुईजना कोरोनाको संक्रमित देखिएपछि नाकामा कडाई गरेको गाउँपालिकाले मंगला–२ नेवारे माईत भई बानपा–४ घर भएकी एक महिला र बागलुङको रुदे्रपिपलबाट आएका मंगला–३ सातविसेका २० बर्षिय यूवालाई समेत मंगला शिक्षा क्याम्पसको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
’छिमेकी गाउँपालिकाबाट प्रवेश गरेकालाई पनि निगरानी बढाएका छौ,‘बागलुङसँग जोडिएका बस्तीमा प्रहरीसहितको गस्ती सुरू भएको छ’ अध्यक्ष रोकाले भन्नुभयो ।
विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरु घर फर्किपनि घरमा समेत १४ दिनसम्म अलग्गै बस्न अनुरोध गरिएको छ । क्वारेन्टाइनमा राख्न मंगला–३ का अध्यक्ष कविन्द्र रोका र नेपाल यूथ काउन्सिलका प्रतिनिधि हरी कँडेल लगायतको उपस्थिती रहेको थियो।
यसैबीच गाउँपालिकाले मंगला–३ र ४ बरंजा, वडा नं ५ अर्मनको किमचौर र बेनपा–३ भकिम्लीसँग जोडिएको बागलुङको सिमानाबाट गाउँपालिका भित्रका बस्तीमा प्रवेश गर्नेलाई तत्काल नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने गरी प्रहरी, स्वयमसेवक सहितको टोलीलाई नाकामा परिचालन गरेको जनाएको छ ।












