छिमेकी जिल्ला बागलुङमा कोरोना भाइरस संक्रमित देखिएसँगै आवतजावतमा रोक लगाइपनि लुकिछिपी आवतजावत बढेपछि सोमबार मंगला गाउँपालिकासँग जोडिएको नाकामा अनुगमन गरिएको छ ।

कोरोना भाइरस (कोभिड१९) को जोखिमलाई मध्यनजर गरी बागलुङसँग जोडिएका ग्रामिण नाकामा चेकपोष्ट स्थापना गरी नियमित अनुगमन गर्ने मंगला गाँउपालिका अध्यक्ष सतप्रसाद रोका,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरको टोलीले मंगला–४ धापुङमा पुगेर स्थानीयसँग समेत छलफल गर्नुभएको छ ।

छिमेकी ताराखोला गाउँपालिकाबाट बरंजा र अर्मनको किमचौर क्षेत्रमा दैनिकजसो आवतजावत हुने गरेको गुनासोसँगै स्थानीयलाई कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी पदैलमार्ग ‘सिल’ गरी प्रहरी सहित यूवाहरुको टोलीले गस्ती गरिने जानकारी गराइएको गाउँपालिका अध्यक्ष रोकाले जानकारी दिनुभयो।

त्यस्तै बागलुङकै काठेखोला गाउँपालिकाबाट बेनी नगरपालिका–३ भकिम्लीको मुसुङमा समेत आवतजावत नरोकिएको गुनासोसँगै बेलढुंगामा प्रहरी सहितको चेकपोष्ट राखिने प्रजिअ ढकालले बताउनुभयो ।

‘जोखिम बढेको छ,‘स्थानीयले आवतजावत रोक्नुपर्छ’ प्रजिअ ढकालले भन्नुभयो । मोटरसाईकलमा नेपाल युथ काउन्सिलका टोलीसँगै बरंजा र भकिम्लीको अवस्थामा बारेमा बुझ्न पुग्नुभएका प्रजिअ ढकालले आफन्तसँग भेटघाट, ब्यापारिक कारोबार हुने भएकाले पनि निगरानी बढाइएको बताउनुभयो ।

‘प्रवेश गर्नेलाई तत्कालै क्वारेन्टाइनमा १४ दिन राखिने छ,‘आवश्यक प्रहरीको जनशक्तीलाई समेत परिचालनको तयारी भइरहेको छ’ प्रजिअ ढकालले भन्नुभयो । बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकाबाट पोष्ट सहित स्थानीयलाई समेत नियमित सूचना दिन अनुरोध गरिएको छ।

भकिम्लीको बेलढुंगा, बरंजाको धापुङ, अर्मनको किमचौर, ओखरबोटको सोलेडाँडा धेरै आवतजावत हुने नाका मानिन्छन् । यसैबीच गाउँमा अपरिचित ब्यक्ति देखिएमा सूचना दिन समेत अनुरोध गरिएको छ ।

Leave a Reply