विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन्।  बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि दुईदिनमा दुईवटा गाईगोरू रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले दाना खुवाउन सुरू गरेको छ। बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी बेनीका केही यूवाले लकडाउनको समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानीको ब्यवस्था गरेका छन् । लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बेनीबजारमा रहेका छाडा पशुचौपायालाई खोजी–खोजी दाना खुवाउने कार्य सुरु भएको बताउनुभयो। पशुचौपायाको आहारको उचित प्रबन्ध मिलाउन क्लवका सदस्यले ब्यक्तिगत सहयोग जुटाएका छन् । मानिसको जिउने अधिकारी जस्तै अन्य पशुपक्षीको पनि हुने भएकाले विश्वभर कोरोना भाइरसको संक्रमणको बिरुद्धको अभियानसँगै बोल्ने मान्छेको जस्तै नबोल्ने पशुपक्षी र प्राणीलाई समेत संरक्षण गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ।

भोग र विभिन्न रोगका कारणले धमाधम पशुचौपाया मर्न थालेपछि सडकमै पुगेर दानापानी खुवाउन बेनी संगमचोकका निरञ्जन श्रेष्ठले समेत सहयोग गर्नुभएको थियो । एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षती हुनसक्ने भन्दै पशुचौपायालाई रेखदेख आवश्यकता रहेको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । बेनीका पशुचौपाया रोगी समेत भएकाले भोकभोकै मर्न सक्ने अवस्थालाई ध्यान दिनुपर्ने बताइएको थियो । बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्ने तर्फ सर्तक हुनुपर्ने पशु प्राविधिकहरुको भनाई छ । एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिमलाई मध्यनजर गरी उचित ब्यवस्थापनको पहल समेत भइरहेको छ ।

बेनीको वीरेन्द्रचोक, न्युरोड, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगमचोक र बालमन्दिर आसपासका क्षेत्रमा रहेका पशुचौपायालाई अर्को ब्यवस्थापन नभएसम्म आफ्नो घरमा फालेको खाना वा घासँ दिन समेत अनुरोध गरिएको छ । बजार आसपासका क्षेत्रमा जंगल भएपनि त्यहाँ लैजादाँ पुनः बजारमै फर्किने गरेका छन् ।

Leave a Reply