कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट जोगिन म्याग्दीको ग्रामीण भेगका स्थानीयवासीले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न दिएका छैनन् । गाउँ आउने बाटो बन्द गरेर उनीहरुले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिएका हुन्। छिमेकी जिल्ला बागलुङकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै बागलुङ जोड्ने नाकामा पर्ने पक्की पुल, झोलुङ्गे पुल र पैदलयात्रामा समेत स्थानीयवासीले कडाइ गरेका छन् ।
लकडाउनको उल्लङ्घन भइरहेको अवस्थामा नाका नै बन्द गरेर अत्यावश्यकबाहेक अन्य सवारीलाई गाउँ छिर्न नदिने एउटै उपाय नाका बन्द नै भएको मङ्गला गाउँपालिका-२ भाइवाङका युवा सन्देश आचार्यले बताए । ‘सडक बन्द नगरेसम्म लकडाउनको प्रभावकारी कार्यान्वयन देखिएन। अति आवश्यक परेकालाई युवाको सहयोगमा बाटो खुल्ला गर्छौँ,’ उनले भने ।
जिल्लाका मंगला गाउँपालिकाका कुहुँ, डडुवा, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, अन्नपूर्ण गाउँपालिकाको घारलगायत गाउँका नाका बन्द गरिएको छ । एक गाउँबाट अर्को गाउँमा अनावश्यक हिँड्न प्रतिबन्ध लगाएको छ भने अरु ठाउँबाट आफ्नो गाउँमा कोही पनि नआउन र अत्यावश्यक कामबाहेक आफ्नो गाउँबाट कोही पनि बाहिर नजान ती गाउँका जनप्रतिनिधि र सचेत युवाले उर्दी नै जारी गरेको लाल युवा क्लब पूर्णगाउँका सचिव सागर सुवेदीले बताए ।
उनले भने, ‘बाहिरबाट गाउँ भित्रनेलाई मात्रै होइन, गाउँमा पनि खेतबारीको काम गर्दा भिडभाड नगर्न, समूह बनाएर छलफल नगर्न, बिनाकाम गाउँमा नडुल्न र साबुनपानीले नियमित हात धुनका लागि गाउँलेहरुमा सचेतनामूलक अभियान नै सञ्चालन गरिएको छ ।’ग्रामीण सडकमा ठाउँठाउँमा ढुङ्गा थुपारिएको छ भने केहीमा ह्युमपाइपसमेत राखेर बाटो बन्द गरिएको छ ।
एउटै वडाभित्र रहेका अर्को गाउँमा जानसमेत रोक लगाइएको छ । यसका साथै स्थानीय तहहरुले स्वयंसेवक दस्ता गठन गरेर परिचालनसमेत गरेका छन् ।लकडाउनको अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम बढेपछि यस्तो गर्नुपरेको बेनी नगरपालिका-१० पात्लेखेतका युवा भीमनाथ शर्माले बताए । केही बस्तीमा सडक छेक्न लगाइएको र बारमा नै कोरोना भाइरसबाट बच्ने उपायलगायत सन्देश लेखेर टाँसिएको छ ।










