कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट जोगिन म्याग्दीको ग्रामीण भेगका स्थानीयवासीले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न दिएका छैनन् । गाउँ आउने बाटो बन्द गरेर उनीहरुले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिएका हुन्। छिमेकी जिल्ला बागलुङकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै बागलुङ जोड्ने नाकामा पर्ने पक्की पुल, झोलुङ्गे पुल र पैदलयात्रामा समेत स्थानीयवासीले कडाइ गरेका छन् ।

त्यसैगरी, तीन साता लामो लकडाउनका कारण घरमा बस्न दिक्क लागेपछि जिल्लाको पर्यटकीय स्थल टोड्केमा जाने मानिसको सङ्ख्या बढ्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भयले स्थानीयवासीले बाटोमा पर्खाल लगाई सूचना बोर्ड नै टाँस गरेर गाउँमा आउन पूर्ण निषेध गरेका छन् ।

 

लकडाउनको उल्लङ्घन भइरहेको अवस्थामा नाका नै बन्द गरेर अत्यावश्यकबाहेक अन्य सवारीलाई गाउँ छिर्न नदिने एउटै उपाय नाका बन्द नै भएको मङ्गला गाउँपालिका-२ भाइवाङका युवा सन्देश आचार्यले बताए । ‘सडक बन्द नगरेसम्म लकडाउनको प्रभावकारी कार्यान्वयन देखिएन। अति आवश्यक परेकालाई युवाको सहयोगमा बाटो खुल्ला गर्छौँ,’ उनले भने ।जिल्लाका मंगला गाउँपालिकाका कुहुँ, डडुवा, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, अन्नपूर्ण गाउँपालिकाको घारलगायत गाउँका नाका बन्द गरिएको छ । एक गाउँबाट अर्को गाउँमा अनावश्यक हिँड्न प्रतिबन्ध लगाएको छ भने अरु ठाउँबाट आफ्नो गाउँमा कोही पनि नआउन र अत्यावश्यक कामबाहेक आफ्नो गाउँबाट कोही पनि बाहिर नजान ती गाउँका जनप्रतिनिधि र सचेत युवाले उर्दी नै जारी गरेको लाल युवा क्लब पूर्णगाउँका सचिव सागर सुवेदीले बताए ।

उनले भने, ‘बाहिरबाट गाउँ भित्रनेलाई मात्रै होइन, गाउँमा पनि खेतबारीको काम गर्दा भिडभाड नगर्न, समूह बनाएर छलफल नगर्न, बिनाकाम गाउँमा नडुल्न र साबुनपानीले नियमित हात धुनका लागि गाउँलेहरुमा सचेतनामूलक अभियान नै सञ्चालन गरिएको छ ।’ग्रामीण सडकमा ठाउँठाउँमा ढुङ्गा थुपारिएको छ भने केहीमा ह्युमपाइपसमेत राखेर बाटो बन्द गरिएको छ ।

एउटै वडाभित्र रहेका अर्को गाउँमा जानसमेत रोक लगाइएको छ । यसका साथै स्थानीय तहहरुले स्वयंसेवक दस्ता गठन गरेर परिचालनसमेत गरेका छन् ।लकडाउनको अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम बढेपछि यस्तो गर्नुपरेको बेनी नगरपालिका-१० पात्लेखेतका युवा भीमनाथ शर्माले बताए । केही बस्तीमा सडक छेक्न लगाइएको र बारमा नै कोरोना भाइरसबाट बच्ने उपायलगायत सन्देश लेखेर टाँसिएको छ ।

Leave a Reply