शारीरिक उमेरले ८४ नाघे पनि म्याग्दीका लाल बहादुर गन्धर्बको हातमा सारंगी भने टुटेको छैन्। बुढेशकालमा दम लगायत विभिन्न रोगबाट ग्रसित उनको स्वर समेत सुकेको छ। लगातार दुई मिनेट सारंगीको धुनमा स्वर मिलाउन सक्दैनन्। म्याग्दीका सहरबजार देखि ग्रामिण क्षेत्रमा सारङ्गी रेटेर ६ दशक विताएका लालबहादुरले दुख, पीडा, हाँसो, खुशीदेखि युद्ध र लडाईमा होमिएकाछोरा, श्रीमानको कथा दुख–दर्दलाई सुरिलो स्वर र सारंगीका तारहरुमा रेट्दा जोकोहीका आँसु रसाउँने गर्दथे ।१८ बर्षको उमेरमा गन्धर्ब पेशामा प्रवेश गरेका उनी नपुगेका सम्भवत म्याग्दीका ग्रामिण क्षेत्रका कुनै घर, आँगन छैनन् ।

ग्रामीण मानिसहरुका कथा सारंगीको धूनमा उन्ने लालबहादुरले धेरैलाई गीतबाट रुवाउने गर्दथे भने कहिले मुसुक्क हसाँउथे। जिल्लामा बषौंसम्म करिब एक्लो गन्धर्बको परिचय स्थापित गरेका लालबहादुर एकजना असाधारण गायन क्षमताका धनी छन् । सुरिलो भाकामा गीत गाउने लालबहादुरको बुढेशकालमा स्वर हराएको मात्रै छैन दुख,कष्टको भूमरीमा समेत फसेका छन्। दुखलाई साथी बनाएर बाँचिरहेका उनी कोराना भाइरस (कोभिड—१९) को जोखिममा समेत बेनीबजारको चोक–गल्लीमा भेटिन्छन्। दिनभरी डुल्छन्, राती कसैको घरको पेटीमा सुत्छन्।

कोरोनाको संक्रमणको जोखिमका बारेमा उनलाई केही थाहा छैन्। ‘तीनदिन भयो भात खाएको छैन्,‘जे पाउँछु त्यही खान्छु’ गन्धर्बले भने ।आफ्नो दुखको कथा सुनाउँदै लालबहादुरले जीवनको अन्तिम समयसम्म सारंगीलाई साथमै राख्ने बताए ।

File Video :8 August 2019 बेनीबजारको विरेन्द्रचोकको चौतारीमा भेटिएका लालबहादुरले बस्ने र खाने ठेगाना नहुदाँ सडकमा बास भएको बताए।बजारमा चहलपहल हुदाँ बुढापाकाले समेत आफ्नो पकेटबाट पैसा निकालेर दिने गरेको बताउँदै सुनसान बजारले आफ्नो पेट भर्न समेत मुस्किल भएको उनले बताए । ‘मलाई पैसा चाहिदैन्, पेटभरी खान र सुत्न पुगे हुन्छ’ उनले भने । सारङ्गी बोकेर हिडेपनि सहयोग गर्ने गरेको बताउँदै लालबहादुरले अब गीत गाउन नसक्ने अवस्थामा पुगेको बताए ।

पञ्चायत बिरुद्धका गीत, नब्बे सालको भूइँचालो, दोस्रो जनआन्दोलन जनपक्षीय गीत गाउँदै हिड्ने गरेको ग्रामिण बस्तीमै रात विताउने गरेको अनुभव समेत सुनाए । उनले गाउँमा जान नसक्ने, बजारमा मान्छे नै नभेटिने भन्दै चिन्ता ब्यक्त गरे । नयाँ पुस्तालाई समेत सारंगीको महत्व बुझाएर बजाउन सिकाएको बताए। लालबहादुर हिजोआज बेनीबजारको मंगलाघाट क्षेत्रमा बस्ने गरेका छन्।

Leave a Reply