लकडाउनले पोखरामा रगतको अभाव देखिएपछि बिहिबार म्याग्दीको सदरमुकाम बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोराना भाइरस संक्रमणको त्रासले गर्दा रक्तदाताहरु समेत आउन नसक्ने अवस्थामा बिरामीलाई आवश्यक रगतको अभाव भएपछि लायन्स क्लव दोभानको आयोजना बेनी अस्पतालमा गरिएको रक्तदान कार्यक्रमबाट ३३ पिन्ट रगत सङ्कलन गरिएको क्लवकी अध्यक्ष जानकी विश्वकर्माले बताउनुभयो ।रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लव अन्तरगत बेनी र छिमेकी पर्वत जिल्लाको वारीबेनीबाट समेत रक्तदानमा सहभागी हुन आएका थिए ।

लकडाउनको कारण पोखरा तथा आसपासका बिरामीलाई आवश्यक पर्ने रगतका लागि विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकेको अवस्थामा बेनीमा कार्यक्रम गरिएको लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालकी रिजन चियरपर्सन सुनिता केसीले बताउनुभयो ।

पोखरामा आवश्यक विभिन रक्त समूहका रगतलाई बेनीबजारमा टोल–टोलमा समेत रक्तदान कार्यक्रम गरी सञ्चालन गर्ने योजना समेत बनाइएको छ । पोखरामा दैनिक ९० युनिटको हाराहारीमा रगतको माग हुने रक्तसंचार केन्द्रका संयोजक सुरत केसीले जानकारी दिनुभयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा सबैभन्दा धेरै रगतको खपत हुने गरेको अवस्थामा पोखराबाट अनुरोध भएपछि रक्तदान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, लायन्स क्लवका डिस्ट्रिक चिप एड्भाइजर चन्द्रकुमार केसी, को– चिप एड्भाइजर सन्तोष रावल, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतको उपस्थिती रहेको थियो । म्याग्दीमा रक्तदान कार्यक्रम प्रभावकारी देखिन्छ । जिल्लाभित्रका विभिन्न संघसंस्था तथा अस्पतालमै समेत दैनिकजसो रगत संकलन गरी जिल्ला बाहिर समेत पठाउने गरिन्छ ।

Leave a Reply