गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ जिल्ला दौडाहामा व्यस्त भएका छन् । गण्डकी प्रदेशमा पनि कोरोनाबाट संक्रमित २ जना विरामी भेटिए पछि उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न र जनतालाई कोरोना विरुद्धको अभियानमा उच्च मबनोवलका साथ लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले मुख्यमन्त्री गुरुङ जिल्ला जिल्लामा पुगेका हुन् । शुक्रवार बिहान बागलुङको धौलगिरि अञ्चल अस्पतालमा आएर कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार र अस्पतालको बारेमा जानकारी लिएका मुख्यमन्त्री गुरुङ दिउँसो साढे २ बजे म्याग्दीको सदरमुकाम बेनीमा आए ।

मुख्यमन्त्री सहित मुख्य सचिव हरिप्रसाद बस्याल,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार गोबिन्द नेपाली लगाएतको टोली जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल,सुरक्षा निकायका अधिकारी,संघीय तथा प्रदेश सांसद लगाएतसंग कोरोना भाइरस (कोभिड १९) को सतर्कताका बारेमा जिल्लाको पछिल्लो अवस्थाको बारेमा जानकारी लिए ।

मुख्यमन्त्री गुरुङले यस्तो संकटको बेलामा सबै मिलेर असहज परिस्थितिसंग मुकाबिला गर्न सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रदेश सरकारले स्वास्थ्य उपकरण,स्वास्थ्य सामाग्री,स्वास्थ्यकर्मीको कमि हुन नदिने प्रतिबद्धता जनाए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले म्याग्दीका विभिन्न विकास आयोजनाहरुमा कार्यरत मजदुरहरुको अवस्था,उनीहरुको व्यवस्थापन र लकडाउनको पछिल्लो अवस्थाको बारेमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

सोही अवसरमा लकडाउनका कारण प्रभावित भएका श्रमिक र गरिब परिवारलाई वितरण गरिने राहतको स्थानीय तह र प्रदेश सरकारबीच समन्वय नहुँदा राहत वितरणको मापदण्डका बारेमा प्रश्न उठेका भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

Leave a Reply