राहत वितरणमा नागरिकताको छाँयाकपी र तिनपुस्ते विवरणको खोज्ने गरेको भन्दै बास्तविक मजदुरलाई सहयोग गर्न अनावश्यक विवरण नमाग्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने अनौपचारिक र असंगठित क्षेत्रमा काम गर्ने मजदुरलाई अनावश्यक विवरणको बोझ बनाएर राहत वितरणमा आलटाल नगर्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ बिरुद्ध जिल्लामा भइरहेको काम तथा उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा आइपुगेका मुख्यमन्त्री गुरूङलेले जनप्रतिनिधिले वितरण गरेको राहतमा गुनासोका गन्ध आउन थालेको बताउँदै गहिरो अनुसन्धान गर्न समेत निर्देशन दिनुभएको छ। ‘मजदुरलाई तिनपुस्ते खोज्ने, औठी र आइफोन समातेकालाई राहत दिनेहरुलाई खोज्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भन्नुभयो । उहाँले जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन टोलीले बास्तविकता पत्ता लगाउनुपर्ने बताउनुभयो । ‘लकडाउनले खानै नपाएकालाई राहत दिने हो,‘पहुँच र दवावमा राहत दिनेलाई खोज्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

उहाँले मापदण्ड अनुसार राहत वितरणमा समस्या भएमा प्रदेश सरकारले थप सहयोग गर्न सक्ने बताउँदै राहत वितरणमा खेल्न खोज्नेहरु अपराधी जस्तै भएको बताउनुभयो। आफ्नो क्षेत्रमा समस्यामा परेकाहरुको विवरण सजिलै संकलन गर्न सकिने उहाँको तर्क थियो । मापदण्डमा प्रष्ट रुपमा अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत मजदुर भएकाले समस्यामा परेकालाई राहत उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो ।

मुख्यमन्त्री गुरूङले राहत वितरणका रोचक घटनाहरुको उदाहरण दिदैं अनुगमन गरी आवश्यक प्रतिवेदन प्रस्तुत गर्न समेत प्रजिअ ढकाललाई निर्देशन दिनुभयो । यसैबीच प्रजिअ ढकालले राहत वितरणको जिल्लाका सबै स्थानीय तहहरुको वडाको अनुगमन र रिर्पोट तयार गर्ने बताउनुभएको छ । उहाँले राहत वितरण भइसकेका वडाहरुको अनगुमन गरिने र वितरण बाँकी रहेकालाई मापदण्ड अनुसार अगाडी बढ्न समेत सुझाव दिनुभएको छ।

जिल्लाका ६ वटा स्थानीय तहका ४५ वडामा वितरण गरेको राहत तथा नामावलीहरु समेत प्रशासनले माग्ने भएको छ । चामल लगायत खाद्यान्न साम्रागीको गुणस्तर तथा वितरण गरिएको परिमाण, मापदण्ड भित्र पर्ने वा नपर्ने भन्ने बारेमा जानकारीलाई प्रमुख प्राथमिकता दिइएको अनुगमन टोलीका एक सदस्यले बेनीअनलाइलाई जानकारी दिनुभयो ।

Leave a Reply