गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना बिरुद्धको अभियानमा म्याग्दी जिल्लाको कामबाट प्रदेश सरकार सन्तुष्ट रहेको बताउनुभएको छ ।

कोरोना भाइरसले महामारीको रूप लिएपछि संक्रमणबाट जोगिन म्याग्दी भित्र गरिएका प्रयासहरुको खुलेर प्रशंसा गदैं म्याग्दी जिल्लाबाट कोरोना बिरुद्धका केही रचनात्मक अभ्यासलाई प्रदेशभित्रका जिल्लाले समेत सिक्नुपर्ने बताउनुभयो ।

शुक्रबार लकडाउनको कार्यान्वयन तथा कोरोना भाइरस बिरुद्धको अभियानहरुको कार्यान्वयनको अवस्था र आवश्यकता बुझ्न बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेशभित्रका ११ जिल्लामा भइरहेका गतिविधिलाई नजिकबाट हेरिरहेको बताउनुभयो।

‘हामी म्याग्दी जिल्लाको कार्यसम्पादनबाट उत्साहित छौ,‘अरु जिल्लाको पनि नराम्रो भन्न खोजेको होईन्, तुलनात्मक रुपमा म्याग्दीको उत्कृष्ट छ’ मुख्यमन्त्री गुरूङले भन्नुभयो । उहाँले कमीकमजोर र तत्काल सुधारका लागी खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउँदा वित्तिकै कार्यान्वयन गर्ने गरेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले आफुँले फोनबाटै दिएका केही सुझावलाई २४ घण्टाभित्रै कार्यान्वयन गरेर देखाएको भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई धन्यवाद समेत दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले म्याग्दी, लमजुङ्ग र स्याङ्गजा जिल्लामा कोरोना भाइरस बिरुद्धको अभियानमा समुदायमा आधारित कार्यक्रमहरुले स्थान पाएको बताउनुभयो ।

कोरोना भाइरसका बारेमा राम्रो ज्ञान भएका पाँचजना स्वयंमसेवक र एक जना प्रहरी गरी ६ जनाको टिम परिचालन, विदेशबाट आएका, अस्वस्थ भएकालाई पहिचान र क्वारेन्टाइन वा अस्पतालमा लैजने र स्वयंमसेवकलाई दैनिक भत्ताको अभियान निकै उत्कृष्ट रहेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेशभित्रका जिल्लाबाट दैनिकजसो कार्यसम्पादनका बारेमा समेत जानकारी दिने गर्नुभएको छ। उहाँले यो महामारीमा भइरहेका कार्यसम्पादनको लिखित मूल्यांकन समेत गरेर प्रोत्साहनको निति बनाउनुभएको बताइएको छ।

गण्डकी प्रदेशभित्र रहेका ११ जिल्लामा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तहले कोरोना भाइरस बिरुद्धको अभियानका बारेमा समेत प्रदेश सरकारले विवरणहरु माग्ने जनाएको छ। यसअगाडी समेत म्याग्दीमा भइरहेको कोरोना बिरुद्धको अभियानका बारेमा गण्डकी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रशंसा गर्नुभएको थियो ।

जिल्लामा लकडाउन उल्लंघन गर्ने तथा खाद्यान्न साम्रागी भन्दै मदिरा बिक्री वितरण गर्ने, मजदुरलाई अलपत्र पार्नेलाई संक्रमणकालिन ऐन अन्तरगत समेत कारवाही गर्ने गरिएको छ। यो ऐन अन्तरगत कारवाहीको सुरुवात गर्ने गण्डकी प्रदेशमै पहिलो म्याग्दी जिल्ला समेत हो ।

म्याग्दीका प्रजिअ ढकाल सहितको टोली मजदुर उद्धारदेखि क्वारेन्टाइनमा समेत बस्न नमान्नेहरुलाई खोज्दै गाउँमा जाने, स्थानीय तहको अवलोकन तथा आवश्यक सहयोग गर्ने भएकाले समेत जनप्रतिनिधिले समेत काममा हौसला मिलेको बताउने गरेका छन् ।

Leave a Reply