म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर घरभई हाल काठमाडौं निवासी रामप्रसाद पौडेलले जन्मदिनमा आर्थिक सहयोग गरेका छन् । रेडक्रसका विशिष्ट सदस्य पौडेलले बिहीबार आफ्नो ५५औं वर्ष पुगेको जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखामार्फत वडा कार्यालयलाई सहयोग गरेका हुन् ।

पौडेलले नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको रेडक्रस उपशाखाले जनाएको छ । गतवर्ष आफ्नो जन्मदिनमा शरिरका अङ्गमध्ये आँखा दानको घोषणा गरेको बताउँदै पौडेलले यसवर्ष रेडक्रस र वडामार्फत सामाजिक क्षेत्रमा खर्च गर्नेगरी अािर्थक सहयोग उपलब्ध गराएको बताए । उक्त रकम पौडेलले बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँ र रेडक्रस उपशाखाका सभापति शिव बानियाँलाई हस्तान्तरण गरेका थिए ।

गतवर्ष पौडेलले जन्मदिनमा आफ्नो आँखा दान गर्ने घोषणा गरेको बताउँदै यसवर्ष सामाजिक क्षेत्रमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको जानकारी दिए । उक्त रकमबाट विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न समुदायमा सचेतनाका लागि मास्क तथा साबुन खरिद गरी जनसमुदायलाई वितरण गरिने जनाइएको छ ।

बेनी–पुलाचौर समाजका सचिव तथा ऐतिहासिक पर्वत राज्यको डढेकोट दरबारको पुलाचौर कोत मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष समेत रहेका पौडेलले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्ने बताएका छन् । सोही अवसरमा रेडक्रस पुलाचौर उपशाखाका निवर्तमान कोषाध्यक्ष गोविन्द बानियाँले वडा कार्यालयलाई नगद पाँचहजार रुपैयाँ सहयोग गरेका थिए ।

Leave a Reply