बेनी नगरपालिका–५ नम्बर वडा कार्यालयले वडा भित्रका विपन्न परिवारलाई बिहीबार र शुक्रबार राहत वितरण गरेको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो।वडा कार्यालयले विपन्न परिवारको निवेदन सङ्कलन गरी कुल १ सय ३४ परिवारलाई दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको जनाएको छ ।

वडाभित्र पुरुण्डी, पुलाडाँडा, पुलाचौर, नयाँगाउँ, गाजने, चिप्लेटी, डडुवा, भीरमुनी र बगुवाखोलाका विपन्न परिवारलाई गाउँमै पुगेर राहत सामग्री वितरण गरिएको छ । उनीहरुलाई चामल, तेल, चिनी, दाल, नुन र साबुनलगायत दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

तीन जनाभन्दा बढी सङ्ख्या रहेको परिवारलाई प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी चिनी, ३ केजी दाल, २ केजी नुन र ४ गोटा साबुन वितरण गरिएको वडा सचिव कृष्णबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार २ जनाको परिवारलाई भने आधा प्याकेज खाद्यान्नका दरले दिइएको छ।

बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले पहिलो चरणमा अति विपन्न परिवारलाई छनोट गरी राहत उपलब्ध गराइएको बताउँदै छुट भएकालाई दोस्रो चरणमा राहतस्वरुप खाद्यान्न दिइने बताएका छन् । खाद्यान्न वितरण कार्यक्रममा पुलाचौरका युवाहरुले स्वयंसेवा समेत गरेका थिए । यसैबीच वडा कार्यालयलाई डडुवाको ज्योती यूवा क्लवले समेत ५ बोरा चामल, तेल एक कार्टुन र ५ केजी चिनी र ३५ सावुन वितरण सहयोग गरेको छ।

Leave a Reply