बागलुङमा दुई दिनको अवधिमा ९४ जनाको कोरोना र्‍यापिड टेष्ट गरिएको छ । कोरोना भाईरसको उच्च जोखिममा रहेको बागलुङमा चैत १ गतेबाट यता विदेशबाट घर फर्केकाहरुलाई लक्षित गरी विहिबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

शुक्रबार बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाको ५९ जना र ढोरपाटन नगरपालिकाको ७ जनाको टेष्ट गरिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका ल्याब टेक्निसियन सुरज बरालले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–३ गौडाकोटमा गरिएको परीक्षणमा ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।र्‍यापिड टेष्ट विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अवस्थामा भने स्वाब संकलन गरी पुनः परीक्षणका लागि पोखरा अथवा काठमाण्डौं पठाइने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा दुई दिन भएको परीक्षणमा कसैको पनि स्वाब संकलन गरिएको छैन । र्‍यापिड टेष्टका पोजेटिभ रिपोर्ट आएको खण्डमा थप कोरोना परीक्षणको लागि स्वाव लिने गरिन्छ । स्वास्थ्य कार्यालयले शुक्रबारको सबै रिजल्ट सार्वजनिक नगरे पनि स्वाव संकलन नगरहेको हुँदा रिजल्ट नेगेटिभ आएको अनुमान गर्न सकिन्छ ।

बागलुङमा विहिबारदेखि सुरु भएको दुर्त परीक्षण ३० गतेसम्म संचालन हुने छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौका अनुसार बागलुङ बागलुङ नगरपालिकामा १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८ को स्वास्थ्य परीक्षण हुने छ ।

बरेङ्ग गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गल्कोट नगरपालिकामा १२ र ताराखोला गाउँपालिका ३३ जना गरी कुल ८९३ जनाको स्वास्थ्य परीक्षण गरिने छ ।

Leave a Reply