नवीन शिशिर
बागलुङ, २९ चैत ।
बागलुङको बरेङ गाउँपालिका–४ सर्वाेदय माविको क्वारेन्टिनमा रहेका चार जनालाई जनही एक केजी महसहित विदाई गरिएको छ ।

भारतको विभिन्न ठाउँबाट घर फर्केका चार जनाको कोरोना परीक्षण (पिसिआर) रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार थप २१ दिन होम क्वारेन्टिनमा रहने गरी सर्जिकल मास्क, प्रशंसा पत्र र मह उपहार दिएर विदाई गरिएको हो ।

चैत्र ४ गते भारतबाट हिडेका उनीहरु ८ गते भारत पलिया गौरीफन्टा नाका हुँदै चैत्र ११ गते पाल्पा पुगेका र पाल्पामा रहेको क्वारेन्टिन मार्फत चैत्र १६ गते बरेङ गाउँपालिकाले सर्वाेदय मावि बरेङको क्वारेन्टिनमा राखिएको थियो ।

कोरोन भाइरस संक्रमणको लक्षण १४ दिन पछि पनि देखिने सम्भावना रहेकाले घरमा रहँदा थप सजकता अपनाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

चैत्र १० गते भारतको सुनौली नाका हुँदै घर फर्केका ४ जनालाई चैत्र १४ गते बरेङ गाउँपालिकाको जनता प्रावि बाटाकाचौर क्वारेन्टिनमा राखिएको छ । चार जना मध्ये ३ जनाको नेगेटिभ आएको छ भने एक जनाको आउन बाँकी रहेको छ । बागलुङमा ८३६ जना होम क्वारिन्टाईनमा रहेका छन् ।

Leave a Reply