बेनी नगरपालिका २ ज्यामरुककोटको बगरफाँटमा तीन रोपनी क्षेत्रफलको चटन (जब्रो)मा दुर्गा भगवतिको मन्दिर निर्माण गरिएको छ ।

जिल्ला वन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार,जिल्ला मालपोत कार्यालयको १० हजार,बेनी नगरपालिकाको ५ लाख,वालुवा,गिटी र ढुङ्गा विक्रिबाट २० हजार, देश विदेशमा रहेका बगरफाँट वासीहरुको ७ लाख ५० गरी १७ लाख ३५ हजारमा भव्य मन्दिर निर्माण गरिनुका साथै बँचेको रकम नियमित पूजा संचालनका लागि अक्षय कोष स्थापना गरिने मन्दिर निर्माण समितिका संयोजक नारायण कार्कीले जानकारी दिनुभयो ।

गजुर शैलीमा निर्मांण गरिएको सो मन्दिर समथर फाँटका बीचमा रहेको विशाल जब्रो (टापु)मा निर्माण गरिएको छ । सो जब्रो तीन रोपनी क्षेत्रफलको रहेको र जब्रोको पुछारदेखि शिरानमा रहेको मन्दिरसम्म पुग्नका लागि पक्की सिंडी सहितको पदमार्ग निर्माण गरिएको छ ।पदमार्गमा पाञ्चायन देवताका मुर्तिहरु राख्नका लागि पाँचवटा ससाना अरु मन्दिरहरु पनि निर्माण गरिएको छ । विभिन्न दाताहरुबाट पाञ्चायन देवताका मुर्ति खरिदका लागि सहयोग प्राप्त भएको संयोजक कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी दुर्गा भगवति मन्दिर निर्माण,पूजा संचालन र अक्षय कोष स्थापनाका लागि संयोजक कार्कीले देश विदशमा रहेका बगरफाँट वासीहरुलाई आग्रह गरेर ७ लाख १५ हजार रुपैयाँ जम्मा भएको र सहयोग आउने क्रम अझै जारी रहेको बताउनुभयो ।

यस क्षेत्रकै आकर्षण मानिएको दुर्गा भगवति मन्दिर पर्यापर्यटनका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो ।
मन्दिरको चारैतिर हरियाली फाँट,फाँटको सिरानमा उडाइनो,आप्रे लगाएतका चारवटा आकर्षक झरना,मन्दिरको तलपट्टि म्याग्दी नदी, पूर्वतर्फ बेनी बजार स्पष्टरुपमा देख्न सकिन्छ ।

बेनी,हाँडेभीर,बरंजा मोटरबाटोको नजिकै रहेको सो मन्दिरसम्म पुग्नका लागि मोटरबाटोदेखि जब्रोको पुछारसम्म र त्यहाँदेखि माथि उपल्लो फाँटसम्म पुग्ने पदमार्ग निर्माणका लागि प्रदेश सांसद विनोद केसीले सहयोग गर्ने आश्वासन दिनुभएको कार्कीले बताउनुभयो । मन्दिर निर्माणसंगै बगरफाँट गाउँको सुन्दरतामा समेत थप टेवा पुगेको छ ।

नवनिर्मित मन्दिरमा गत चैत्राष्टमीका दिन दुर्गा भगवति लगाएत पाञ्चायन देवताका मुर्तिहरुको प्राणप्रतिष्ठा गरी नियमित पूजा संचालन गर्ने योजना रहेकोमा कोरोना भाइरस (कोभिड १९) का कारण देशमा जारी बन्दाबन्दी (लकडाउन)ले गर्दा मन्दिरको उद्घाटन र पूज संचालन गर्न नसकिएकोले लकडाउन खुलेपछि उपयुक्त समयमा मन्दिरको उद्घाटन तथा मूर्तिहरुको प्राणप्रतिष्ठा गरिने संयोजक कार्कीले बताउनुभएको छ ।

Leave a Reply