बेनी नगरपालिका-३,भकिम्लीका स्थानीयले ठाउँ–ठाउँमा अस्थायी ’क्याम्प’ खडा गरेका छन् । चारवटा मोटरसाईकलमा सवार यूवाहरूले गाउँ जोड्ने सडक सञ्जाल तथा नाकाहरूमा दैनिक पटक–पटक फन्को लगाउँछन् ।

छिमेकी जिल्ला बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाबाट भकिम्ली जोड्ने सिमानासँगै सदरमुकाम बेनी, छिमेकी वडा ज्यामरुककोट, मंगला गाउँपालिकाको चाउरे खोला, सिरकुम लगायतका क्षेत्रबाट दैनिकजसो आउने सर्वसाधारणलाई रोक्न नियमित गस्ती गरिरहेका छन् ।

स्थानीय खिम पुनको संयोजकत्वमा खटिएको स्वयंमसेवक, विपद् ब्यवस्थापन समितिका सदस्यले समेत नाकालाई पुर्णरुपमै ‘सिल’गर्न स्थलगत रुपमै सघाइरहेको वडा अध्यक्ष पदन पुनले बताउनुभयो । ‘लकडाउनको पहिलो हप्ता गरिएको प्रयासमा फितलो देखिएपछि कडाई गरेका छौ,‘केही हप्ता आवतजावत पूर्णरुपमा बन्द हुन्छ’ वडा अध्यक्ष पुनले बेनीअनलाइनलाई भन्नुभयो । पारिवारिक भेटघाट, ब्यापारिक कारोबारसँगै सधै आवतजावत हुने बागलुङको काठेखोला गापा–३ धम्जाको मुख्य सिमाना बेलढुंगा र ताराखोला गापा हुदै मुसुङधुरी र छिमेकी मंगला गाउँपालिकाको बरंजा क्षेत्रलाई धेरै निगरानीमा राखिएको बताउनुभयो । नाकाहरूमा छड्केसँगै २४ घण्टे गस्ती समेत भइरहेको छ । केहीलाई नाकाबाटै फिर्ता पठाइएको छ । भकिम्लीका समेत केही बागलुङ क्षेत्रमै रोकिएका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन तथा यसको रोकथामका लागि गरिएको लकडाउन आफ्नो क्षेत्रमा अझ थप कडा पार्न गाउँ प्रवेशमा रोक लगाइएको स्थानीय यूवा कृष्ण थापाले बताउनुभयो ।

‘गाउँभित्र नयाँ मान्छेलाई पस्न नदिन गाउँ प्रवेश गर्ने बाटाहरुमा चारैतिर गाउँले मिलेर पहरा बसेका छौ,‘बाहिरी क्षेत्रबाट गाउँकै मान्छे आएपनि फर्काउँछौ’ थापाले भन्नुभयो। लकडाउनमा धेरै मानिस घरमै बसेपनि केही भने बाहिर निस्कने गरेकाले यसलाई नियन्त्रण गर्न र अन्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण गाउँमा भित्रन नदिन यूवाहरु नै सक्रिय भएको बताउनुभयो ।

बागलुङमा कोरोना संक्रमित देखिएसँगै समन्वय गरी लकडाउनलाई प्रभावकारी बनाउने अन्य स्थानीय तहसँग समेत समन्वय गरी सिमानामै गस्ती गर्ने, सूचनामार्फत जानकारी गराउने र आवश्यकता अनुसार नियमित समन्वय समेत गरिरहेको वडा कार्यालयले जनाएको छ ।

Leave a Reply