कोरोना संक्रमणको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) चलिरहेको बाग्लुङकी एक महिलाको स्वाब पुनः परीक्षण गरिने भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकाकी ६५ वर्षीया महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्टको रिपोर्ट स्पष्ट नआएकाले उनको स्वाब पुनः परीक्षण गरिने भएको हो । उनको स्वाब थप परीक्षण तथा पुष्टिका लागि पोखरा वा काठमाडौं पठाइने स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

र्‍यापिड टेस्ट रिपोर्टको क्रममा थप आशंका पैदा भएपछि अहिले ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । उनी केही साताअघि मात्रै गाउँका अन्यसँग भारतको तीर्थयात्रामा गएर फर्किएकी थिइन् ।

जिल्लामा कोरोनाका दुई संक्रमित पुष्टि भएसँगै जोखिम बढेको भनेर सरकारले गत शुक्रबारदेखि जिल्लाभर कोरोनो भाइरस (कोभिड– १९)को द्रुत परीक्षण गरिरहेको छ । शनिबारसम्ममा चार सय ७६ जनाको र्‍यापिड टेस्ट गरिएकोमा ती महिलाबाहेक सबैका रिपोर्ट नेगेटिभ आएको थियो।

Leave a Reply