म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङले वडाबासीलाई नयाँ बर्षको शुभकामनासँगै घरदैलोमै पुगेर कोरोना भाईरस प्रति सतर्क तथा सावधानी अपनाउन मास्क र हातधुने सावुन वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न जनचेतनामुलक कार्यक्रम गदैं आइरहेको अवस्थामा सोमबार वडाभित्रका ७ वटै टोलमा पुगेर नयाँ बर्षको शुभकामना सहित लकडाउनको पालना गर्न समेत अनुरोध गरिएको थियो । वडा अध्यक्ष चन्द्रबहादुर फगामीको नेतृत्वमा जिल्ला समन्वय समितिका सदस्य मेख बहादुर गर्बुजा, वडा सदस्य रुद्ध बहादुर तिलिजा, पवित्रा खड्का, सुकमायाँ विक, अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जा, जनजागरण यूवा क्लवका अध्यक्ष ओम बहादुर बुढाथोकीले हरेक घरधुरीमा रहेक सदस्यलाई मास्क र सावुन वितरण गरेको अन्नपूर्ण यूवा क्लवका सचिव अमृत गर्बुजाले जानकारी दिनुभयो ।

गाँउमा निर्माणधिन अवस्थामा रहेको मिस्त्री, निलगिरी र रेलेखोला जलविद्युत आयोजनाको समेत सहयोगमा वितरण गरिएको थियो । सोही अवसरमा बृद्धबृद्धाको स्वास्थ्य अवस्था सहित समस्याका बारेमा समेत बुभ्ने प्रयास भएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

उहाँले रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या देखिएमा तत्काल वडा कार्यालयमा जानकारी गराउन समेत समुदायमा अनुरोध गर्नुभएको थियो । वडाभित्र ५ सय ६० थान सावुन र २ हजार थान मास्क वितरण गरिएको थियो । वडाभित्र जनप्रतिनिधिको गतिविधिसँगै सामाजिक तथा विकास निर्माणमा स्थानीय क्लवले समेत सहयोग गर्ने गरेका छन् ।

Leave a Reply