कोरोनाको त्रासले गाउँको मुहार फेरिँदै

0

भारतको मुम्बईको पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका–२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ । विगत २० वर्षदेखि काठमाडौँको गोङ्गबुमा होटल व्यवसाय सञ्चालन गरेर बस्नुभएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोनाको त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौंदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थाल्नुभएको छ ।

बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र पलफूल खेती विस्तार गर्ने ध्याउन्नमा आफूलाई केन्द्रित गर्नुभएको छ ।घिमिरे, थापा र शर्माजस्तै धेरै व्यक्ति अहिले शहर छोडेर गाउँमा फर्किनुभएको छ ।

कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेका गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ । गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेशा व्यवसाय तथा अध्ययनका लागि शहर बसेका फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन ।

हिउँदेखेती थन्काएर कतै मकै लगाउने त कतै गोड्ने याम छ अहिले गाउँमा । मल बोक्ने काम भइरहेको छ । यिनै काममा आफूलाई व्यस्त राख्दै छन् गाउँ फर्केका तन्नेरीहरू । कोरोना भाइरसको महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको सङ्ख्या पनि निकै छ । पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ ।

युवा धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरूप नै फेरिएको बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय वेदप्रसाद शर्माले बताउनुभयो । “पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ”, शर्माले भन्नुभयो, “आपत्विपत्, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दो रहेछ ।” गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा २०० भन्दा बढी मालभोग जातका केराका बिरुवा लगाउँदै गरेका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताउनुभयो ।लकडाउनका कारण शहर बजारमा मानिस घरभित्र नै बसेका भए पनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कर्म भइरहेको गाउँलेले बताएका छन् । खेतीपातीको काममा शहर र विदेशबाट आएका युवा खटेकाले अहिले गाउँका वृद्धवृद्धा, महिला र केटाकेटीले राहत महसुस गरेका छन् ।

लकडाउनको असर गाउँमा कम छ । गाउँका खेतबारीमा काम भइरहेको छ । कोही घर सिँगार्न व्यस्त छन् त कोही खेतबारीमा मल बोक्न । त्यस्तै कोहीलाई बाली भित्र्याउने चटारो छ । वर्षौंदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् ।

शहरको रमझम र सुविधामा अभ्यस्त भएका बालबालिका पनि गाउँको वातावरणमा रमाउँदै जान थालेका छन् । काठमाडौँबाट पहिलोपटक हजुरबुबासँग गाउँ आएका रोशन घिमिरेले मम, चाउमिन, समोसा र बजारमा पाइने अरु खाजाभन्दा गाउँमा खाइने खाजा मीठो भएको बताउनुभयो ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट बच्नका लागि गाउँ फर्किएका युवायुवती र बालबालिका अहिले गाउँको परिवेशमा रमाएका छन् । गाउँको वातावरणमा सुरक्षित र रमाइलो दुवै भएको उनीहरुको भनाइ छ । गाउँका वुद्धवृद्धाले पनि अब गाउँको दिन आउँछ कि भनेर आशा गर्न थालेका छन् ।

मालिका गाउँपालिका–५ देवीस्थानका रेशबहादुर बूढाले भन्नुभयो, “गाउँका पुराना घर सिँगारिएका छन् । मर्मतसम्भार गरेर चिटिक्क पारिएको छ । बाटो र डहरो पनि सरसफाइ गरिएको छ । कोरोनाका कारण मरिने बाँचिने त ठेगान छैन तर गाउँको रूप भने परिवर्तन भएको देख्न पाइयो ।”

Leave a Reply