कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि हातमुखको जोहो गर्न मुश्किल भएका ज्याला मजदुरी गर्ने र विपन्नलाई राहत वितरण गर्न म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरु व्यस्त छन् । वडा सदस्यदेखि लिएर गाउँ तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरु समेत राहत वितरणमा अग्रसर भएपछि गाउँतहका नागरिकहरुमा कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सचेतना विस्तार गर्ने कार्यमा जनप्रतिनिधिहरुको भूमिका नदेखिएको स्थानीयले बताएका छन् ।

सुरुमा माक्स,हातधुने साबुन लगाएतका सामाग्रीहरु बोकेर सामान्य रुपमा वितरण गरका जनप्रतिनिधिहरु लकडाउनको चौंथो दिनदेखि नै विभिन्न संघसंस्थाहरुबाट प्राप्त राहत (खाद्यान्न)सामाग्री तिरणमा व्यस्त हुन थालेका थिए । पछिल्लो समय कार्यविधि बनाएरै जनप्रतिनिधिहरु राहत वितरणमा जुटेका छन् ।

यहाँका ६ वटै स्थानीय तहहरुले वडा तहबाटै राहत वितरण सुरु गरेका छन् । राहत वितरणको विषयलाई लिएर सामाजिक संजालहरुमा मिश्रित प्रतिकृयाहरु समेत देखिन थालेका छन् ।

यो समय राहत वितरणको भन्दा पनि स्वास्थ्य सचेतना विस्तार, विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा अनिवार्य व्यवस्थापन र बाहिरी जिल्लाबाट हुने आवागमनमा पूर्णरुपमा रोक लगाउने समय भएको स्थानीय बुद्धिजीविहरुले बताएका छन् ।

‘तर,यहाँका जनप्रतिनिधिहरु गाउँगाउँमा गएर राहत वितरण गर्ने र सामाजिक संजालमा तस्बीर पोष्ट गरेर आत्मरतिमा रमाउने मात्रै गरेका छन्‘ मालिका गाउँपालिका ५ देविस्थानका समबहादुर फगामीले भन्नुभयो ।

राहत वितरणमा नै व्यस्त जनप्रतिनिधि
जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा यतिबेला राहत वितरण गर्न जनप्रतिनिधिहरुलाई भ्याइ नभ्याइ छ । लकडाउनका कारण यसअघि घरबाट बाहिर ननिस्केका र आफ्नै गाउँमा समेत नदेखिएका जनप्रतिनिधि पनि राहत वितरण गर्न वडा कार्यालयसम्म गएर फेसबुकमा तस्बीर राख्न भ्याएका बेनी नगरपालिका २ का एक व्यक्तिले नाम उल्लेख नगरिदिने सर्तमा राससलाई बताउनुभयो ।

‘अघिपछि घरबाट बाहिर ननिस्केका वडा सदस्य ज्यूलाई राहत वितरण गरेको तस्बीर खिचाउन भने मन लागेछ‘ती स्थानीयले भन्नुभयो ‘यस्तो आपतकालीन अवस्थामा राहत वितरण भन्दा पनि स्वास्थ्य सचेतना बढाउन जनप्रतिनिधिहरुको विशेष भूमिका हुनुपर्छ ।‘

Leave a Reply